ज्याला बढाउनुपर्ने मागसहित झापामा चिया मजदुरको प्रदर्शन

न्युजलय २० साउन २०८०, शनिवार ०८:५४ मा प्रकाशित

झापा । झापाका चिया श्रमिकले ज्याला वृद्धि, सामाजिक सुरक्षा कोषमा आबद्धतालगायतका माग राख्दै प्रदर्शन गरेका छन् । चिया मजदुर आवद्ध सङ्गठनले सो क्रममा काँकडभिट्टामा प्रदर्शनसमेत गरेका छन् । 


श्रमिकको न्यूनतम पारिश्रमिक तथा पत्ति डबली वृद्धि, रोजगार सम्झौता, योगदानमा आधारित सामाजिक सुरक्षालगायत व्यवस्था लागू गर्नुपर्ने कृृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका केन्द्रीय उपाध्यक्ष सइकुमार राईले बताए ।


तीन वर्षदेखि चिया श्रमिकले न्यूनतम पारिश्रमिकसमेत नपाएको उनको भनाइ थियो । श्रम ऐन, २०७४ मा श्रमिकले दैनिक ५७७ रुपैया ज्याला पाउने उल्लेख भए पनि बगान र प्रतिष्ठानमा कार्यरत श्रमिकले ४३७ रुपैया मात्र पाउँदै आएका छन् ।


२० वर्षदेखि कार्यरत श्रमिकको रोजगारी, स्वास्थ्य, पेन्सन र सुरक्षाको ग्यारेन्टी गर्न माग गरिएको छ । झापामा एक सय ३२ साना र ६९ ठूला तथा संस्थागत चिया बगानमा गरी ७० हजार श्रमिक कार्यरत छन् ।


झापामा एक सय ३२ साना र ६९ ठूला तथा संस्थागत चिया बगानमा गरी ७० हजार श्रमिक कार्यरत छन् । जिल्लामा १० हजार हेक्टरमा चिया खेती हुने गरेको तथ्याङ्क छ ।