इटहरीमा मेयर पौडेलका दुई वर्ष ः आशलाग्दा काम धेरै
नगर प्रमुखको रुपमा हेमकर्ण पौडेलले इटहरी उपमहानगरपालिकाको नेतृत्व सम्हालेको आगामी जेठ ९ गते २ वर्ष पुरा हुँदैछ । वरपरका धेरै पालिकाले खासै काम गर्न नसकिरहेको, विवादै विवादमा अल्झिरहेको अवस्थामा इटहरीमा भने धेरै क्षेत्रमा आशालाग्दा काम भएका छन् ।
यसबिचमा केही विवाद, केही असन्तुष्टी र विरोधहरु पनि भए । खासगरी कर वृद्धिलाई लिएर तीव्र विरोध भयो, जुन असन्तुष्टी आजका दिनसम्म पनि नगरवासीमा कायम छ । यस्तै निजी विद्यालयको पोशाकमा एकरुपता कायम गर्न खोजिएपछि त्यसको पनि विरोध भयो भने ऐनसम्म परिवर्तन भएको भन्दै नेकपा एमालेसम्बद्ध कार्यपालिका सदस्यले विरोध जनाए ।
त्यससँगै कार्यपालिका बैठक सञ्चालन गर्ने, निर्णयहरु पास गर्ने सन्दर्भमा पटक पटक कार्यपालिकाभित्र विवाद भइ नै रहेका छन् ।
विवाद र विरोधहरुका बाबजुद उपमहानगरपालिकामा केही नयाँ र दीर्घकालिन महत्वका कामहरु भएका छन् । मेयर पौडेलले निर्वाीचत भएको पहिलो वर्ष देखिने कामहरु खासै गरेनन् । थारु जातिलाई पहिलो जाति घोषणा गर्ने र इटहरीको सडकबाट पार्किङ हटाउने जस्ता एकाध काम मात्र भए । तर दोस्रो वर्ष उनले गरेका कामहरुले परिणाम देखाइरहेका छन् । उनले खासगरी खोलापैनी सफाइ, राजमार्ग विस्तारमा देखिएको अड्को फुकाउने कामजस्ता दीर्घकालिन र अन्य धेरै अल्पकालिन सकारात्मक कामहरु गरेका छन् ।
यस्ता छन् २४ महिने कार्यकालमा भएका २८ वटा महत्वपुर्ण कामहरु –
१. निःशुल्क सार्वजनिक शौचालय
इटहरीमा सार्वजनि शौचालयको आवश्यकता निकै अघिदेखिको थियो । ७ वर्षअघि घुम्ती शौचालय ल्याइएपनि प्रयोगमा ल्याउन सकिएको थिएन । न त सार्वजनिक शौचालय बनाउनै सकिएको थियो । यस्तोमा इटहरीका मुख्य भिडभाड हुने सार्वजनिक स्थानमा चार वटा शौचालय निर्माण गरिएको छ ।
२. थारु पहिलो जाति घोषणा
इटहरीमा वस्ती विकास गर्ने र सुरुमा बसोबास गर्ने ‘थारु’ जातिलाई इटहरीको पहिलो जाति घोषणा गरियो । आफ्नो घोषणा पत्रलाई कार्यान्वयन गर्दै मेयर हेमकर्ण पोडेलले थारुलाई पहिलो जाति घोषणा गरी आफ्नो वाचा पुरा गरे । थारु जातिको सम्मानका लागि प्रत्येक वर्ष बैशाख ३ गते सिरुवा पर्वको सार्वजनिक विदासमेत दिन थालिएको छ ।
३. ग्रामथानको सूचिकरण
मेयर हेमकर्ण पौडेलले पहिलो जाति थारुको धार्मिक तथा साँस्कृतिक भूमि ग्रामथानको संरक्षण गर्न सूचिकरण गर्ने कामको थालनी गरेका छन् । ग्रामथानहरुको पुर्नीनर्माण थालिएको छ ।
४. विद्यालयमा दिवा खाजा कार्यक्रम
मेयर हेमकर्ण पौडेलले देशभरमै पहिलो पटक कक्षा ६ सम्म एकीकृत रुपमा विद्यालय खाजा कार्यक्रम सुरु गरे । सरकारले दिइरहेको रकममा थप गरेर ठेक्का लगाइ विद्यार्थीहरुले अहिले सातै दिन सातै थरिका पौष्टिक खानेकुरा पाइरहेका छन् । खाजाको गुणस्तरीयतामा प्रश्न उठेपछि उपमहानगरले अनुगमन समेत गरिरहेको छ ।
५. इटहरी अस्पतालमा व्यापक सुधार
इटहरीमा स्तरीय स्वास्थ्य संस्थाको माग निकै अघिदेखिको थियो । अहिले इटहरी अस्पताललाई स्तरोन्नती गर्ने कामको अन्तीम चरणका कामहरु भइरहेका छन् ।
२४ सै घण्टा इमरजेन्सी सेवा, विशेषज्ञ सेवा तथा १५ बेडमार्फत् बिरामीको उपचार सुरु भएको छ । दैनिक रूपमा हाड जोर्नी, महिला तथा स्त्री रोग विशेषज्ञ र बाल रोग विशेषज्ञ डाक्टरले बिरामीको उपचार गर्छन् । ल्याब, इसिजी, एक्सरेलाई थप परिस्कृत र व्यवस्थित गरेर लगिएको छ । सस्तोमा राम्रो सेवा पाउन थालेपछि अहिले अस्पतालमा आउने बिरामीहरुको संख्या ह्वात्तै बढेको छ । टोकन सिस्टम, बिरामी र कुरुवालाई बस्न सजिलाको लागि कुर्सीको व्यवस्था गरिएको छ ।
६. निः शुल्क शव वाहन सेवा
घर देखि घाटसम्म निःशुल्क शव वाहन सेवा सुरु गरिएको छ ।
७. निःशुल्क एम्बुलेन्स सेवा
इटहरी उपमहानगरपालिकाले २ वटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । जसलाई २४ सै घण्टा इटहरीवासीलाई निःशुल्क सेवा दिन प्रयोग गरिरहेको छ ।
८. मुख्य चोकमा पार्किङ निषेध, फुटपाथ व्यवस्थापन
जथाभावी पार्किङले शहर अस्तव्यस्त भएपछि उपमहानगरले मुख्य चौकको ३ सय मिटर वरपर पार्किङ निषेधित क्षेत्र घोषणा गर्याे । मेयर हेमकर्ण पौडेल आफै सडकमा आएर नियमको कार्यान्वयन गराए । जथाभावी पार्किङ हटेपछि इटहरीको मुख्य चौक खुल्ला र सफा देखिएको छ । पार्किङको वैकल्पीक व्यवस्था गर्ने तयारी भइरहेको उपमहानगरले जनाएकोछ ।
९. पालिकाबाटै श्रम स्वीकृति
श्रम स्वकृतिको काम इटहरी उपमहानगरपालिकाबाटै हुन थालेको छ । गत वर्षको असोज महिनादेखि उपमहानगरबाटै श्रम स्वीकृति दिन थालेपछि काठमाण्डौँ जानुपर्ने बाध्यता हटेको छ ।
१०. छ लेन सडक विस्तार
कोशी राजमार्गको विस्तार अन्य क्षेत्रमा भइसक्दा इटहरीको मुख्य चोकमा भने हुन सकेको थिएन । घर भत्किने भएपछि घरधनीहरुले अटेर गर्दै आएका थिए भने कतिले अदालतको स्टे अर्डर लिएर बसेका थिए । तर समन्वायत्मक कार्यपछि ती घरहरु भत्काइएको छ । अहिले सडक विस्तारको कामले तिव्रता पाएको छ । बषौँदेखिको विवाद मिलेको छ भने रोकिएका कामहरु सुरु भएका छन् ।
११. अनलाइन घर नक्सा, निःशुल्क घर डिजाइन
इटहरीमा अनलाइन प्रणालीबाट घर नक्साको इजाजत पत्र प्रदान गर्न थालिएपछि सेवाग्राहीलाई धेरै सजिलो भएको छ । नगरबासीहरुले फाइल बोकेर कोठा कोठा धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । काम छिटो र सजिलो तरिकाले हुन थालेको छ । यस्तै आफ्नो नक्सा कुन शाखा वा फाँटमा पुग्यो भनेर अनलाइनबाटै थाहा पाउन सकिएको छ ।
यस्तै १ हजार स्वायर फिट भन्दा साना घरको नक्सा उपमहानगरपालिकाले निःशुल्क बनाइदिने गरेको छ ।
१२. पूर्वाधार ल्याब र खाद्य प्रविधि ल्याब सुरु
निर्माणमा गुणस्तरीयता कायम राख्न इटहरी उपमहानगरभित्र छुट्टै पूर्वाधार ल्याब स्थापना गरिएको छ । ल्याबमा बालुवा, गिटी, सिमेन्ट, डन्डीको जाँच गरिन्छ । योजना सुरु गर्नुअघि अनिवार्य गुणस्तर रिपोर्ट लिनुपर्छ । इटहरीमा निर्माण समाग्रीको गुणस्तर जाँच हुन थालेपछि अन्य पालिका तथा ठुला आयोजनाहरुले पनि जाँच गर्न ल्याउन थालेका छन् । यसले राजश्वमा वृद्धि भएको छ । खाद्य ल्याब पनि स्थापना गरिएको छ । अनुगमनमा शङ्का लागेका वस्तुको नमुना सङ्कलन गरी ल्याबमा जाँच गर्न थालिएको छ ।
१३. सिसि क्यामराको निगरानी र सुरक्षा
सहरको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राख्दै इटहरी उपमहानगरले सार्वजनिक स्थल तथा मुख्य बजार क्षेत्रमा सिसिक्यामरा जडान गरेको छ । इटहरीको मुख्य हाइवे, मुख्य बजार, व्यस्त बजार,सार्वजनिक स्थलमा ८० भन्दा बढी सिसिक्यामरा जडान भएका छन् ।
जसबाट ट्राफिक व्यवस्थापन गर्न सजिलो भएको छ । वित्तिय संस्थाहरुले सुरक्षित महसुस गरेका छन् । इटहरी उपमहानगरपालिकाले सिसिटिभी मार्फत मोनिटरिङ गर्न नागरिक सहायता कक्ष भित्र छुट्टै डिजिटल कक्ष स्थापना गरिएको छ ।
१४. सुविधा सम्पन्न नागरिक सहायकता कक्ष स्थापना
पुराना र थोत्रे सामान थन्काउने कवाडखाना जस्तो थियो उपमहानगरको प्राङ्गण । जस लाई चिटिक्क परेको नागरिक सहायता कक्ष बनाइएकोछ । अहिले सेवा लिन आएका कुनै पनि नागरिक अलमलिनु पर्दैन । सेवाग्राहीको निवेदन लेखिदिने, नबुझेको कुरा बुझाइदिने, अशक्त अपांगता भए फाइल सम्बन्धित शाखामा पु¥याएर कर्मचारीले नै काम गरिदिन्छन् । सेवा लिन पुगेका जो कोही सेवाग्राहीले निःशुल्क कालो चिया तथा कफी खान पाउँछन् ।
१५. ठेकेदारलाई कालो सूचिमा राख्दै, अधुरा काम पुरा गर्दै
काम नगर्ने निर्माण कम्पनी विरुद्ध इटहरी उपमहानगर एक्सनमा उत्रियो । योजनाहरू अलपत्र पार्ने निर्माण कम्पनीहरुलाईं कारबाही गर्दै कालोसूचीमा राख्न इटहरी उपमहानगरले स्पष्टीकरण सोधियो । पछि केही कम्पनीहरु सम्पर्कमा आए । अधुरा काम फेरी सुरु भएका छन् ।
१७. आधुनिक बसपार्क निर्माण सुरु
आधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण थालिएको छ । नौ करोड ४८ लाख ८३ हजार ५ सय ५६ रुपैयाँको ठेक्कामा अहिले धमाधम निर्माण हुँदैछ । एक बिघा क्षेत्रफलमा फैलिएको बसपार्कमा टिकट काउन्टर, सोधपुछ कक्ष, प्रतिक्षालय, सभाहल, रेष्टुरेन्ट समेत रहनेछ । बसपार्क बनेपछि यातायाता व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ ।
१८. सुशासनमा सुधार
इटहरी उपमहानगरपालिकाले प्रदान गर्ने सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन नीतिगत सुधार गरेको छ । सेवाग्राहीलाई कुनै झन्झट विना छिटो छरितो र सहजढंगबाट सेवा प्रदान हुन थालेको उपमहानगरको दावी छ । सेवालाई अनलाइन बनाइएको छ । कर तथा राजश्व तिर्न मोबाइल तथा अनलाइनबाट सजिलै तिर्न सकिन्छ ।
कर्मचारीको अनिवार्य पोसाक, इ हाजिरी, कार्यालय समयको व्यवस्थापन, सिसिक्यामराको मोनिटरिङ, नागरिक सहायता कक्ष जस्ता आधारभूत पक्षमा सुधार गरिएको उपमहानगरले जनाएको छ ।
१९. शैक्षिक गुणस्तर सुधार संकल्प अभियान
शिक्षालाई प्राथमिकतामा राखेका मेयर हेकमर्ण पौडेलले शैक्षिक गुणस्तर सुधारका लागि २७ बुँदे सङ्कल्प पत्र सार्वजनिक गरेका छन् । जनप्रतिनीधिहरुले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु पर्ने नीति लिएको छ । आन्तरिक प्रतिस्पर्धाका आधारमा विद्यालयमा प्रधानाध्यापक नियुक्त गरिने मेयर पौडेलले घोषणा गरेका छन् । स्थानिय पाठ्यक्रम, थारु भाषामा पठनपाठन सुरु गर्ने सङ्कल्प पत्रमा उल्लेख गरिएको छ ।
२०. सहकारी सुधार कार्यक्रम
सहकारी संस्थाहरूमा देखिएका समस्या समाधानका लागि इटहरी उपमहानगरपालिकाले सुधारको पहल थालेको छ । सहकारीका सञ्चालक समितिका पदाधिकारी, लेखा सुपरिवेक्षण समिति र व्यवस्थापकको सम्पत्ति विवरण माग गर्ने नगर सहकारी समितिले निर्णय गरेको छ । सहकारी ऐनमा भएका केही ऐनलाई संशोधन, प्रतिस्थापन र नयाँ थप गर्दै देखिएका अप्ठ्यारालाई सम्बोधन गर्दै लागु गर्ने निर्णय भएको छ ।
इटहरी उपमहानगरपालिकाले राम्रा सहकारीलाई पुरस्कृत गर्ने र खराब सहकारीलाई कानुन बमोजिम कारबाही गर्न थालेको छ । प्रत्येक वर्ष राम्रो काम गर्ने सहकारीलाई सम्मान गर्ने परम्परा सुरु गरेको छ । अर्काे महत्वपूर्ण काम भनेको बचतकर्ताको रकम फिर्ता गराउने काम गरेको छ ।
२१. आकाशे पुल र सभाहल ठेक्का
इटहरीमा आकाशे पुल र सभा हलको ठेक्का लागेको छ । अघिल्लो सरकारले बनाउने चर्चा गरे पनि नसकेको काम मेयर हेमकर्ण पौडेल नेतृत्वको इटहरी सरकारले यसलाई मूर्त रुप दिएको हो ।
इटहरीको मुख्य चौकको धरान रोडमा र विराटनगर लाइनको गोल्डेन चौकमा आकाशे पुल बन्ने छ ।
यस्तै, इटहरी ५ स्थित काव्य वाटिकाको जग्गामा सभा हल निर्माण हुनेछ । एकै पटक ५ सय मानिस अट्ने क्षमता भएको ३ तलाको आधुनिक सभा हल निर्माण हुनेछ । यो सभा हललाई थिएटरको रूपमा प्रयोग गर्न सकिने इन्जिनियर जिवन घिमिरेले जानकारी दिए । योसँगै अन्य साना खाले २ वटा सेमिनार हल पनि निर्माण हुनेछ ।
२२. खोलापैनी सफाइ टेग्रा कोरिडोर निर्माण सुरु
इटहरीलाई बाढि र डुबान बाट जोगाउने महत्वकांक्षी योजना यो वर्ष सुरु भयो । यसै विषयलाई मूल मुद्दाका रुपमा उठाएर चुनाव जितेका मेयर हेमकर्ण पौडेलले खोला पैनी मिचेका संरचना भत्काउन सुचना निकाले । अटेर गरेपछि टेंग्रा खोलामा डोजर चलाए ।
डुबानको समस्या दीर्घकालीन रूपमा समाधान गर्न उपमहानगरले टेङ्ग्रा कोरिडोर योजना अघि सारेको छ । विश्व बैङ्कको सहयोगमा टेङ्ग्रा कोरिडोर निर्माण गर्ने उपमहानगरले जनाएको छ । ताल तलैयाको मुहान देखि दक्षिणी सीमा क्षेत्र सम्म करिब ९ किलोमिटर क्षेत्रमा कोरिडोर निर्माण हुनेछ । टेँग्रा सफाइसँगै अहिले कोरिडोर निर्माणको काम पनि हुँदैछ । कोरिडोर बनाउन साइड क्लियरेन्सको काम पनि सँगै हुँदै छ ।
टेंग्रा पछि अहिले खेती खोला मिचेर बनाएका संरचना भत्काउने सुचना निकालिएको छ ।
२३. निजी विद्यालयहरुको वर्गीकरण र शुल्क निर्धारण
शैक्षिक गुणस्तर सुधारको अभियान चलाएका मेयर हेमकर्ण पौडेलले निजी विद्यालयलाई पनि व्यवस्थीत गर्ने काम सुरु गरेका छन् । निजी विद्यालयले मनपरी शुल्क लिइरहेको गुनासोपछि कडाइ थालिएको हो । पछिल्लो ५ वर्षदेखि हुन नसकेको निजी विद्यालयको श्रेणीकरणलाई परिमार्जन गर्ने र सोही आधारमा शुल्क निर्धारण गर्ने तयारी थालिएको छ ।
इटहरीका निजी विद्यालयहरूको अवस्था र उनीहरुले दिइरहेको सुविधाबारे अध्ययन भइरहेको छ । उनीहरुको अवस्थाको मूल्याङ्कन गरी वर्गीकरण गर्ने र सोही आधारमा शुल्क निर्धारण गर्ने तयारी छ ।
२४. विद्युतीय शवदहगृह
कोशी प्रदेशमै पहिलो पटक इटहरीमा विद्युतीय दासंस्कार स्थल बन्न लागेको छ । सम्झौता भइसकेको छ भने यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने तयारी छ । करिब ३ करोड ५० लाखको लागतमा यो निर्माण हुनेछ । कोशी प्रदेश सरकारले ७० प्रतिशत र इटहरी उपमहानगरले ३० प्रतिशत लगानी गर्ने समझदारी भएको छ ।
२५. विद्युतीय नगर बस
इटहरीमा आगामी आर्थिक वर्षदेखि नगर बस सञ्चालनमा आउने भएको छ । चार वटा विद्युतीय नगर बस सञ्चालनमा आउँदैछन् । इटहरी नगरभरी सहज र सरल रूपमा यातायातको सेवा पुर्याउन विद्युतीय नगर बस सञ्चालनमा ल्याउन लागेको उपमहानगरले जनाएको छ । नगर बस सञ्चालनको लागि कार्यपालिका बैठकमार्फत बनेको नगर बस रुट निर्धारण तथा व्यवस्थापन समितिले नगर बस चल्ने रुटको कार्ययोजना बनाइरहेको छ ।
२६. अत्याधुनिक सुविधा सम्पन्न भेटेरिनरी अस्पताल
किसानका घरपालुवा जनावर बिरामी भएपछि उच्चस्तरिय उपचारका लागि अस्पताल निर्माण गरिएको छ । भवन निर्माण भएपछि किसानका समस्या सहज ढङ्गबाट समाधान हुने उनले बताए । २ करोड ६ लाख ८२ हजार १६५ रुपैयाँ लागतमा तीन तले भवन निर्माण भएको छ ।
२७. आईसीयू र भेन्टिलेटरसहितको एम्बुलेन्स
कोशी प्रदेशमै पहिलो पटक आईसीयू र भेन्टिलेटरसहितको एम्बुलेन्स सेवा शुरू गर्ने तयारी गरिएको छ । एम्बुलेन्स सञ्चालनले स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिने बताए ।
२८. बिग्रेको सडक बनाउन रोलर र ग्रेडर
इटहरी उपमहानगरपालिकाले सडक निर्माण र मर्मतलाई सहजता हुने उद्देश्यले आफ्नै डोजर र रोलर खरिद गरेको छ । एक वर्ष भित्र टोलटोलमा बिग्रेको सडक बनाउने र नयाँ सडक पुर्याउने महत्वकांक्षी योजना सहित इन्फ्रास्ट्रक्चर एम्बुलेन्स खरिद गरिएको हो । यस्तै दमकलसमेत खरिद गरिएको छ ।