यू-२० एसियन कप छनोटमा बंगलादेशसँग नेपाल पराजित

न्युजलय ३ असोज २०७९, सोमबार ०१:२१ मा प्रकाशित

काठमाडौं । बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटमा नेपाल जितविहीन बनेको छ । गएराति समूह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशसँग ३–० ले पराजित भएपछि नेपाल जितविहीन बनेको हो ।


समूह ‘बी’ अन्तर्गतको खेलमा बंगलादेशलाई जित दिलाउन मोजिबोर जोनी, पियास नोभा र साजिद हसन निजुमले एकरएक गोल गरे । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा भएको खेलमा नेपाल ९ र बंगलादेश १० खेलाडीमा समेटिएका थिए ।


खेलको छैटौं मिनेटमा जोनीले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । १० औं मिनेटमा नोभाले टोलीको अग्रता दोब्बर बनाए ।

 

२६ औं मिनेटमा नेपालका डिफेन्डर अजय चौधरीले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा समेटियो । बंगलादेशी खेलाडीलाई कुहिनाले हान्दै फउल गरेपछि उनले रातो कार्ड पाएका हुन् ।

 

३५ औं मिनेटमा नेपाल ९ तथा बंगलादेश १० खेलाडीमा समेटिए । कप्तान आयुष घलानले रातो कार्ड पाएपछि नेपाल ९ खेलाडीमा समेटियो । बंगलादेशका अजिजुल हक एनान्टोलाई अभद्र व्यवहार गरेपछि आयुषलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए ।


अजिजुलले दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान छाडेपछि बंगलादेश पनि १० खेलाडीमा समेटिएको थियो । उनले आयुषलाई जिस्काएका थिए ।


५२ औं मिनेटमा निजुमले गोल गर्दै बंगलादेशलाई ३–० को जित दिलाए । यो हारसँगै नेपालले अंकविहीन रहँदै पुछारमा रहेर प्रतियोगिताको अन्त्य गर्‍यो ।