विराटनगरमा तीन दिने मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न

न्युजलय २३ जेठ २०८३, शनिवार ०९:०० मा प्रकाशित

विराटनगर । पत्रकारहरुको लागि तीन दिने ‘पेशागत पत्रकारिता तथा मल्टिमिडिया’ सम्बन्धी क्षमता विकास तालिम सम्पन्न भएको छ ।


सञ्चारकर्मीहरूको व्यावसायिक तथा प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले गरिएको तालिममा मोरङ जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत तथा नवप्रवेशी पत्रकारहरुको सहभागिता रहेको थियो ।


जुन मिडिया नेटवर्कको आयोजना तथा विराटनगर महानगरपालिकाको सहयोगमा गरिएको तालिममा आधुनिक पत्रकारिता, डिजिटल सञ्चार तथा मल्टिमिडिया सामग्री उत्पादनसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरिएको थियो । 


तालिमको पहिलो दिन दुई वटा मूख्य सत्र संचालन गरिएको थियो । पहिलो सत्रमा कोशी प्रदेशका मुख्य मन्त्रिका प्रेस सल्लाकार विक्रम लुईटेलले पत्रकारिताको इतिहास, विकासक्रम र वर्तमान चुनौतीबारे प्रशिक्षण दिएका थिए । दोस्रो सत्रमा चिनारी मिडियाकी प्रबन्ध निर्देशक सिता थापाले स्टोरी टेलिङ तथा पोडकास्ट निर्माणसम्बन्धी विषयमा सहजीकरण गरेकी थिइन् । 


त्यसैगरी दोस्रो र तेस्रो दिन पत्रकार प्रशिक्षक हिमाल दाहालले मल्टिमिडिया पत्रकारिता, एआई र डिजिटल सामग्री निर्माणका विविध पक्षबारे प्रशिक्षण प्रदान गरेका थिए ।


समापन समारोहमा प्रमुख अतिथि विक्रम लुईटेलसहित अन्य अतिथिहरूले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा बोल्दै वक्ताहरूले बदलिँदो सञ्चार परिवेशमा पत्रकारहरूले प्रविधिमैत्री सीप विकास गर्दै सत्य, तथ्य र जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।