एसिया कप : अफगानिस्तानविरुद्ध पाकिस्तानको रोमाञ्चक जित

न्युजलय २३ भदौ २०७९, बिहिबार १२:३४ मा प्रकाशित

काठमाडौँ । एसिया कप २०२२ को फाइनल पाकिस्तान र श्रीलंकाबीच हुने भएको छ । पाकिस्तानले बुधबार भएको सुपर–४ को खेलमा अफगानिस्तानलाई एक विकेटले हराएपछि फाइनल समीकरण पूरा भएको हो ।

 

यस नतिजापछि अफगानिस्तानसँगै भारत पनि प्रतियोगिताबाट बाहिरिएको छ ।

 

जितका लागि १ सय ३० रनको लक्ष्य पाएको पाकिस्तानले १९.२ ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रन बनाएको हो । पाकिस्तानका लागि नसिम शाहले ४ बलमा १४ रन बनाए ।


उनले अन्तिम दुई बलमा दुई छक्का प्रहार गरेका थिए । पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेटको क्षतिमा १ सय २९ रन बनाएको थियो । त्यसमा इब्राहिम जार्डनले सर्वाधिक ३५ रन बनाए ।