खोटाङमा बाघ आतङ्क

न्युजलय २० साउन २०८१, आइतबार ०२:२७ मा प्रकाशित

 खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा बाघको आतङ्क छ । जङ्गलबाट गाउँ पसेको बाघले खोरका खसीबाख्रा, गोठमा बाँधिएका बाच्छापाडा तथा कुकुर मार्न थालेपछि स्थानीय बासिन्दा आतङ्कित बनेका हुन् ।

केही दिनअघिदेखि गाउँ पसेको एउटा बाघले शुक्रबार राति साविक राजापानी –२ भोगटिनीस्थित देविका चौहानको घरमा बाँधेको कुकुर तथा सोही राति शम्भुप्रसाद भण्डारीको खसी मारेको स्थानीय बासिन्दाले बताएका छन् ।

चौहानको घर बाहिर राखिएको खाटमा बाँधेको कुकुर साङ्लोसहित २० मिटर तल लगेर टाउको बाहेक सबै खाए पनि भण्डारीको खसी भने खोरबाट निकाल्न नसक्दा मारेर भागेको जनाइएको छ । बाघले शनिबार भोगटिनीकै देवीबहादुर कार्कीको बोका मारेको छ ।