बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

न्युजलय १८ कार्तिक २०८२, सोमबार १२:१९ मा प्रकाशित

विराटनगर । पाँचथरको हिलिहाङ गाउँपालिकामा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।​ 

पक्राउ पर्नेमा हिलिहाङ गाउँपालिका–१ फेदापाका ​३१ वर्षीय सन्देश राई रहेका छन् ।

६९ वर्षीय युवराज राईको हत्या गरेको आरोपमा उनकै कान्छा छोरा सन्देशलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । युवराज आइतबार बिहान घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए ।

युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रारम्भिक अनुसन्धानमा युवराजका कान्छा छोरा सन्देशले बुवाको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रहरीले सन्देशलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ । युवराजको शव कानूनी प्रक्रिया पूरा गरी परीक्षणका लागि जिल्ला अस्पताल फिदिम ल्याइएको प्रहरीले जनाएको छ ।


घटनाबारे थप अनुसन्धान भइरहेको र हत्याको कारण खुल्न बाँकी रहेको पाँचथर प्रहरीले जनाएको छ ।