विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति भएको गोलीकाण्डमा घाइते भएका अर्का एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।
मोरङ प्रहरीका अनुसार देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो विराटनगरस्थित न्युरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
जयप्रकाशको पेटमा गोली लागेको थियो । सोमबार उनको शल्यक्रिया गरिएको भए पनि अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारका क्रममा स्वास्थ्य अवस्था सुधार हुन नसकेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हाल उनको शव न्युरो अस्पतालमै राखिएको छ ।