नयाँदिल्लीमा रेलले किचेर दमकका संग्रौलाको मृत्यु

न्युजलय ४ जेठ २०७९, बुधबार ०७:३० मा प्रकाशित

नयाँदिल्ली । रोजगारीको खोजीमा पोल्यान्ड जाने प्रक्रियाका लागि नयाँदिल्ली पुगेका एक नेपाली मृत फेला परेका छन् । झापाको दमक–४ का २६ वर्षीय श्रीजन संग्रौलाले नयाँदिल्लीस्थित रेल्वे ट्र्याकमा रेलले किचेर ज्यान गएको अवस्थामा फेला परेका हुन् । संग्रौलाका बुबा ध्रुवले मृतकको पहिचान गरेका हुन् । 


संग्रौला पोल्यान्ड जान आवश्यक प्रक्रियाका लागि वैशाखको अन्तिम साता झापाबाट दिल्ली आएका थिए । पहाडगंजस्थित होटल मदर प्यालेसमा बसेका उनी वैशाख २७ साँझबाट हराएका थिए । उनी हराएको सूचना पाएसँगै खोजीका लागि परिवारजन दुई दिनअघि दिल्ली आएका हुन् । प्रहरीले केही घटनाका तस्बिर देखाउँदा संग्रौलाको पनि भेटिएको हो । 


दिल्ली प्रहरीका सहायक निरीक्षक सुखपाल सिंहले सुनसान स्थानमा रेलले किचेको अवस्थामा संग्रौलाको शव भेटिएको बताए । 


मृतकका बुबा ध्रुवले घटनाको विश्वसनीय अनुसन्धानको अपेक्षा राखेको बताए । उनले प्रयोग गरेको मोबाइल, लत्ताकपडा र केही पैसा भने उनी बसेको कोठामा नै पाइएको छ । होटलबाट बाहिरिएको लामो समयमा पनि उनी नफर्किएपछि होटलमा सँगै बसेका झापाका अन्य युवाले प्रहरी र परिवारजनलाई खबर गरेका थिए ।