उर्लाबारीमा युवकको हत्या गर्ने तामाङ पक्राउ

न्युजलय १७ साउन २०८१, बिहिबार ११:३० मा प्रकाशित

इटहरी । मोरङको उर्लाबारी नगरपालिका–४ का २१ वर्षीय कुशल दाहालको हत्यामा संलग्न पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

हत्यामा संलग्न उर्लाबारी–५ का ३५ वर्षीय सुभाष तामाङलाई प्रहरीले मोरङको सुन्दरहरैँचा नगरपालिका–४ दुलारीबाट बुधबार दिउँसो पक्राउ गरेको हो । दाहालको हत्या गरेर तामाङ फरार भएपछि प्रहरीले सार्वजनिक सवारीसाधन चेकजाँचमा कडाइ गरेको थियो ।

को १ ख ६४७१ नम्बरको बसमा चढेर धरानतर्फ जाँदै गरेको अवस्थामा तामाङलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तामाङले लाट्ठी र खुकुरी प्रहार गरेर मंगलबार साँझ दाहालको हत्या गरेका हुन् ।

घरमा तामाङ एक्लै बस्दै आएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार तामाङले आफ्नो मोबाइल चोरी गरेको आरोप दाहालमाथि लगाएका थिए । सोही विषयमा विवाद हुँदा दाहालको हत्या भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ ।

घटनामा संलग्न उनी १० वर्षअघि एक जनाको हत्या भएको घटनामा दोषी ठहर भएका थिए । आपराधिक पृष्ठभूमिका उनी कर्तव्य ज्यान मुद्दाको सजायमा माफी मिनाहा पाएका थिए । उनले यसअघि २०७१ साल असोज ८ गते ढुंगाले हानेर उर्लाबारी–२ का नवीन राईको हत्या गरेका थिए ।