दशैँ र बढ्दो बिकृति

न्युजलय १७ असोज २०७९, सोमबार १०:१० मा प्रकाशित

बडा दशैँ नेपालीहरूको प्रमुख चाँड हो। हिन्दु धर्मलम्बीहरूले आश्विन/कार्तिक महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म देविहरुको पुजा/आराधना गरी दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका-प्रसाद ग्रहण गरेर विशेष रूपमा मनाउने गर्छन्। घटस्थापनाका दिन देखी नवमी सम्म प्रत्येक दिन फरक देवीहरूको पूजा-आराधना हुन्छ। क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री।

 

रामले रावण माथि विजय हासिल गरेको (असत्य माथी सत्यको जीतको) खुसियालीमा नव दुर्गाको प्रसाद स्वरुप आफू भन्दा मान्यजनहरुको हातबाट टिका र जमरा लगाएर विजय दशमी मनाईने गरिन्छ। घटस्थापनाका दिनबाट सुरु भएको दशैँ पुर्णिमाको दिन बिधिपुर्वक यसको अन्त्य गरिन्छ। दशैंको दिन आफू भन्दा मान्यजनहरुको हातबाट टिका र जमरा लगाएर आशिर्वाद ग्रहण गर्ने, नयाँ कपडा किन्ने मिठो मिठो खानेकुरा बनाउने र खाने, घर र घर अगाडिको वातावरण सरसफाइ गर्ने जस्ता काम उत्साहका साथ गरिन्छ।

 

बडा दशैँमा आफन्तजनहरुसँग भेटघाट गर्ने र संगै बसेर रमाइलो गर्ने गरिन्छ। वडादशैँमा आफ्नो देश भन्दा बाहिर रहेका मानिसहरु पनि दशैँको लागि विदा लिएर मनाउनको लागि आउने गर्दछन्। काठमाडौंमा बसोबास गर्दै आएका मानिसहरु पनि दशैँमा आफ्नो घर जानेको भिडभाड निकै धेरै हुन्छ।

 

पहिले दशैँमा आफ्नो घरमा रङ्ग लगाउने, गाउँघरमा लिङ्गे पिङ हाल्ने, आफू सँग जे छ त्यहि कुरामा रमाउने, परिवारहरु भेटघाट गर्ने, मिठो मिठो कुरा खाने गरिन्थ्यो । तर, अहिले बिगतको तुलनामा दशैँमा बिकृती पनि उत्तिकै बढ्दो क्रममा छ। अहिले दशैँ एक अर्काको देखाशिखिमा मनाउने गरिन्छ। कसले कस्तो लुगा लगायो ? कस्तो खानेकुरा खायो ? कसरी अरु भन्दा राम्रो देखिने ? भन्दै आफू संग पैसा नहुँदा पनि ऋण लिएर दशैँ मनाउने गरिन्छ। दशैँको नाममा बिकृती दिन दिनै बढ्दो क्रममा छ। पहिले गाउँ घरमा दशैँको बेला हालिने लिङ्गे पिङ, रोटे पिङ अहिले कतै कतै मात्र देखिन थालेको छ। पारिवारिक भेटघाटको नाममा जुवा, तासको बिकृती बढ्दो छ। घरगाउँमा रातभर दशैँ भनेर रक्सी पिउँदै जुवा, तास खेल्ने गरिन्छ।

 

यता, दशैँको बेला व्यवसायीहरुले सर्वसाधारण जनतालाई म्याद गुज्रिएका सामानहरु बिक्री गर्दै आएका छन्। सहरबाट दशैँ मनाउन घर फर्किनेहरु पनि लुटिदै आएका छन्। घर फर्कन टिकट नपाउदा यात्रुले महँगो शुल्क तिर्नु परेको छ। दशैँकै बेला घर फर्कदा अव्यवस्थित बाटो र चालकको लापरवाहीको कारण कयौंको लागी दशैँ दशा साबित हुँदै आएको छ। 


यो विषयमा सरकार कतै न कतै आफ्नो दायित्वबाट पन्छिँदै आएको छ। सरकारले यो बिषय देखे नदेखेको जस्तो गर्दै आएको छ। चाँडबाडको बेला सरकार आफ्नो दायित्वबाट पन्छिदा नागरिकहरुले सास्ती भोग्दै आएका छन्।

 

दशैँको नाममा बिकृती फैलिदै छ। दशैँलाई मनाउँदा हामीले हाम्रो संस्कृति र रीतिरिवाजको समेत ख्याल गर्नुपर्छ। दशैँलाई सकारात्मक तरिकाले मनाउँ र आफू संग जे छ त्यसमै खुशी हुँदै मनाऊ।


-प्रलब पराजुली