उद्योग वाणिज्य महासंघको निर्वाचन आज : वरिष्ठ उपाध्यक्षमा तीन जना भिड्दै

न्युजलय २९ चैत २०७९, बुधबार ०७:२७ मा प्रकाशित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज हुँदैछ । एक वरिष्ठ उपाध्यक्षसहित ५९ पदाधिकारीको लागि हुन लागेको निर्वाचनमा तीन प्यानल प्रतिष्पर्धामा छन् । ६३ पदाधिकारीमध्ये चार जना यसअघि नै निर्विरोध भइसकेका छन् । 

निर्वाचनले एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुन्नेछ । 

एक वरिष्ठ उपाध्यक्षका लागि व्यवसायी उमेशलाल श्रेष्ठ, उपाध्यक्ष अन्जन श्रेष्ठ र उपाध्यक्ष रामचन्द्र संघईले उमेदवारी दिएका छन् । त्यस्तै, उद्योग वाणिज्य, वस्तुगत र एसोसिएटमा गरी तीन जना उपाध्यक्षका लागि आठ जनाले उमेदवारी दिएका छन् ।

महासंघको उद्योग वाणिज्यतर्फ उपाध्यक्षमा अरुणराज सुमार्गी, दिनेश श्रेष्ठ र सुरकृष्ण वैद्य प्रतिस्पर्धामा छन् । वस्तुगततर्फ मनिषलाल प्रधान, सुकुन्तलाल हिराचन र हेमराज ढकाल प्रतिस्पर्धामा छन् । यस्तै, एसोसिएटतर्फ ज्योत्सना श्रेष्ठ र भरतराज आचार्य प्रतिस्पर्धामा छन् ।

कार्यसमिति सदस्यमा सात प्रदेशबाट सात जना, उद्योग वाणिज्य संघबाट १८ जना, वस्तुगत संघबाट १४ जना, एसोसिएटबाट १९ जना, द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट एकजना र संस्थापक सदस्य समूहबाट एकजना कार्यसमिति सदस्य रहनेछन् । सात प्रदेशमध्ये लुम्बिनी र सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सर्वसम्मत भएका छन् भने संस्थापक सदस्य र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट पनि सर्वसम्मत भएका छन् ।

उद्योग वाणिज्य संघतर्फ १८ जनाका लागि ३२ जनाले प्रस्तिस्पर्धा गर्दै छन् भने वस्तुगत संघतर्फ १४ जना कार्यसमिति सदस्यका लागि २८ जनाले प्रस्तिस्पर्धा गर्दैछन् । त्यसैगरी एसोसिएटतर्फ १९ जनाका लागि ३० जनाले प्रस्तिस्पर्धा गर्दैछन् ।

विधानअनुसार तीन वर्षपछि अध्यक्ष बन्नको लागि यो अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुपर्छ ।