खोटाङमा पाँच सयभन्दा बढी घर बाढी र पहिरोको उच्च जोखिममा

न्युजलय २० असार २०८१, बिहिबार ०१:४० मा प्रकाशित

विराटनगर । जिल्ला प्रहरी कार्यालय खोटाङले बाढी र पहिरोको उच्च जोखिममा रहेका घर तथा प्रभावित हुन सक्ने मानिसको संख्या सर्वेक्षण गरेको छ । 

मनसुनजन्य प्रकोपबाट हुने जनधनको क्षतिबाट जिल्लावासीलाई जोगाउन जिल्ला प्रहरी कार्यालयले प्रहरी परिचालन गरेर बाढी र पहिरोको उच्च जोखिममा रहेका परिवार तथा प्रभावित हुनसक्ने मानिसको संख्या सर्वेक्षण गरेको हो । 

प्रहरीले गरेको सर्वेक्षणअनुसार १० स्थानीय तह रहेको जिल्लामा बाढीबाट ८५ परिवारका तीन सय २० र पहिरोबाट चार सय ३९ परिवारका एक हजार सात सय ६१ जना उच्च जोखिममा रहेका छन् । 

मनसुन सुरु भएसँगै प्रहरी परिचालन गरेर उच्च जोखिममा रहेका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा चारवटा स्थानीय तह बाढी र डुबानको उच्च जोखिममा रहेको प्रहरीको सर्वेक्षणले देखाएको छ ।