काठमाडौँ । मध्य अमेरिकी देश ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीमा सोमबार एउटा बस दुर्घटना हुँदा ५५ जनाको मृत्यु भएको छ।
यात्रुहरूले भरिएको बस सान अगस्टिन अकासाग्वास्टलान शहरबाट राजधानी जाँदै थियो।
दुर्घटना हुनुभन्दा पहिले धेरै सवारी साधनहरू एकअर्कासँग ठोक्किएको र त्यसपछि बस लगभग २० मिटर गहिरो नालीमा खसेको स्थानीय अधिकारीहरूले बताएका छन्।
दुर्घटनापछि आधा बस नालीमा डुब्दा धेरै मानिसहरू निस्कन नपाएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।सरकारी अधिकारीहरूका अनुसार दुर्घटना हुँदा बसमा लगभग ७० जना सवार थिए।
ग्वाटेमालाका राष्ट्रपति बर्नार्डो अरेभालोले देशमा तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन्। यसका साथै, मानिसहरूलाई सहयोग गर्न सेना र विपद् एजेन्सीहरू खटाइएका थिए।