उरुग्वेलाई पराजित गर्दै पोर्चुगल अन्तिम १६ मा

न्युजलय १३ मङ्सिर २०७९, मङ्गलबार ०१:१० मा प्रकाशित

काठमाडौँ । चार वर्ष अघिको हारको बदला लिँदै पोर्चुगल नकआउट चरणमा पुगेको छ । सोमबार राति उरुग्वेलाई २–० ले पराजित गर्दै अन्तिम १६ पक्का गर्यो ।


पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेजले गरे । पोर्चुगल कतार विश्वकपको नकआउट चरणमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ । खेलको ५४ औँ मिनेटमा फर्नान्डेजले डिबक्स बाहिरबाट गरेको प्रहारमा रोनाल्डोले हेड गर्ने कोसिस गर्दा गोलरक्षक झुक्किए । उक्त बलले जालि चुम्यो ।


१–० को अग्रता दिलाएका उनले अर्को गोल पेनाल्टीमा गरे । दोस्रो हाफको अतिरिक्त समयमा पाएको पेनाल्टीको अवसर फर्नान्डेजले खेर जान दिएनन् । पेनाल्टी एरियाभित्र उरुग्वेका खेलाडीले ह्याण्ड गरेपछि रेफ्रीले भिएआरको सहायतामा पेनाल्टी दिएका थिए ।


पोर्चुगलसँग उरुग्वे पराजित भएपनि अघिल्लो चरण प्रवेशको सम्भावना भने जिवितै छ । यसअघि सन् २०१८ मा उरुग्वेसँग पराजित हुँदै पोर्चुगल अन्तिम १६ बाट बाहिरिएको थियो ।


सोमबार उरुग्वेलाई पराजित गर्दै पोर्चुगलले ४ वर्ष अघिको हारको बदला पनि लिएको छ । अन्तिम खेलमा पोर्चुगल र जापान तथा उरुग्वे र घाना भिड्नेछन् ।