नगर प्रहरीले सफारी चालकलाई कुटपिट पछि घिसार्दै लगे

न्युजलय ३१ फाल्गुण २०८०, बिहिबार ०८:०७ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिकाका नगर प्रहरीले सिटि सफारी चालकमाथि उपमहानगरपालिका अगाडी बल प्रयोग गरेका छन् ।  ‘माथिको आदेश भन्दै’ नगर प्रहरीले लाठी प्रहार गर्नुका साथै घिसार्दै उपमहानगरपालिका भित्र लगेको प्रत्यक्षदर्शीले बताएका छन् ।


मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट भित्रने सफारीहरूलाई टाइम कार्ड लागू गरेको उपमहानगरपालिकाको नियमलाई अदालतले उल्टाएपनि उपमहानगरपालिकाले राजमार्गमा अवरोध कायमै राखेको अवस्थामा विहीबार मजदुरमाथि ज्यादती गरेकोहो । 


उच्च अदालतको आदेशलाईसमेत नमानी उपमहानगरले सफारी व्यवस्थापनका नाममा आफूहरुलाई यातना दिएको पीडितहरूको गुनासो छ। इटहरी ४ निवासी नरबहादुर सुनारका अनुसार मेयरको आदेश भन्दै नगर प्रहरीले लाठी प्रहार गरेको हो । सो क्रममा एक जना सफारीचालकलाई घिसार्दै नगरपालिका भित्र लगिएको बताइएको छ । 


‘कुन कानुनका आधारमा नगर प्रहरीले चेक गरेको हो भनेर प्रश्न गर्ने मजदुरलाई कुटिएको छ,’ एक चालकले बताए, ‘नगरप्रहरीको ज्यादतीविरुद्ध इटहरीका राजनीतिक दलका प्रतिनिधिहरुसमेत बोलेका छैनन् ।’


मुख्य राजमार्गमा नगर प्रहरीले चेकजाँच गर्नु कानुन विपरीतको काम हो । तर इटहरीको नगर प्रहरीले भने नियमविपरीत काम गरीरहेको छ । यस्तै नगर प्रहरीले सादा कागजमा चिट काटेर अवैध असुली गरेको समेत आरोप लगाएका छन् ।