विराटनगर । गत शुक्रबार हत्या गरिएकी विराटनगरस्थित नोबेल अस्पतालकी नर्स चन्द्रिकाकुमारी दासका प्रेमी मृत भेटिएका छन् ।
२२ वर्षीय शिवशंकर दास स्थानीय होटलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनले प्रेमिकाको हत्यापछि आत्महत्या गरेको अनुमान गरिएको छ । हत्यापछि प्रेमी दास फरार थिए ।
सिरहा घर भएकी २५ वर्षीया स्टाफ नर्स दासका प्रेमी नोबल हस्पिटल अगाडीको होटल फाइनको कोठा नम्बर १०२ झुण्डिएको अवस्थामा आइतबार राति मृत भेटिएको मोरङ प्रहरीले जनाएको छ ।
शिवशंकर र चन्द्रिकाकुमारी चार वर्षदेखि प्रेम सम्बन्धमा थिए । शिवशंकर वैदेशिक रोजगारीमा मलेसिया गएपछि चन्द्रिका कुमारीको प्रेम सिराहाका अमिन धानुकसँग बसेको थियो । चन्द्रिकाकुमारीले प्रेममा धोका दिने भएपछि चन्द्रिकाकुमारीको डेरामा बसेको रात नै हत्या गरेको प्रहरीले जनाएको छ ।