अरुण तेस्रोको क्याम्पमा पहिरो खस्दा एक जना मजदुरको मृत्यु, दुई जना घाइते

न्युजलय ३० जेठ २०८१, बुधबार ०२:५१ मा प्रकाशित

संखुवासभा । पहिरोले पुरिएर संखुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा एक मजदुरको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।


अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका गङ्गाराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । अन्य दुई जना सामान्य घाइते भएका छन् । घाइते हुनेहरुमा मकवानपुरका उमेश कार्की र गोविन्द थारू छन् ।


राति कामदारहरु निदाएको बेला क्याम्पमा पहिरो खसेको थियो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेको क्याम्पका १४ वटा कोठामध्ये ३ वटा पहिरोमा पुरिएका छन् ।


खाँदबारी–नुम सडक खण्ड अन्तर्गत कालोपत्रे गर्न तयारी गरिएको ठूलोढुंगा अरुणथान ४ किलोमिटर सडक मंगलबार बिहान परेको वर्षाले क्षति पुर्‍याएको छ ।