युक्रेनको बुचा शहरमा ३ सय जनालाई सामूहिक चिहानमा गाडिएको दाबी

न्युजलय २० चैत २०७८, आइतबार ०९:०० मा प्रकाशित

काठमाडौं । युक्रेनी सेनाले रुसबाट नियन्त्रण फिर्ता लिएको राजधानी किएभ बाहिरको बुचा शहरमा करिब ३०० व्यक्तिलाई सामूहिक चिहानमा गाडिएको दाबी गरिएको छ। मेयर अनातोली फेडोरुकले युक्रेन–रुस युद्धको बेला मारिएका व्यक्तिहरुलाई सामूहिक चिहानमा गाडिएको दाबी गरेका हुन्।

 

उनले मृतकहरु महिला तथा पुरुष रहेको र एक १४ वर्षीय बालक रहेको पनि बताए। बुचा शहरमा विगत केही हप्ताहरूमा दुई देशका सेनाबीच भयंकर लडाइँ भएको थियो। यो शहर लगभग एक महिनादेखि रूसी सेनाको कब्जामा थियो।

 

वाशिंगटनको नेशनल डिफेन्स युनिभर्सिटीका प्रोफेसर डेभिड डेसरोचेसले नागरिकहरूको जानाजानी हत्या गर्नु युद्ध अपराध रहेको बताए। 


यसैबीच युक्रेनी सेनाले राजधानीबाट २० किलोमिटर (१२ माईल) पूर्वमा रहेको ब्रोभरी शहरलाई पनि पुनः कब्जामा लिएको मेयर इहोर सापोज्कोले शुक्रबार राति टेलिभिजन सम्बोधनमार्फत् जानकारी दिए।

 

यता, राजधानी नजिकैको लडाइँ क्षेत्रमा गत महिना बेपत्ता भएका एक प्रख्यात युक्रेनी फोटो पत्रकार शुक्रबार किएभको उत्तरमा रहेको हुता मेजिहिरस्का गाउँमा मृत फेला परेका थिए।

 

दुई साताअघिदेखि सार्वजनिक रूपमा नदेखिएका उनलाई रुसी सेनाले हत्या गरेको आरोप युक्रेनी राष्ट्रपतिका सहयोगी आन्दे्र यार्माकले दाबी गरेका हुन्।


युक्रेनले केही दिन पहिले नै युद्धको रिपार्टिङ्ग गर्ने शिलशिलामा लेविनलाई रूसी सेनाले ‘कब्जामा लिई बेपत्ता’ बनाएको बताएको थियो।