इटहरी । कर्णाली प्रदेशमाथि १० विकेटको फराकिलो जित निकालेसँगै प्रदेश–१ समूह ‘बी’ को विजेताको रुपमा प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट लिगको सेमिफाइनल प्रवेश गरेको छ ।
मंगलबार(आज) इटहरीस्थित जनता क्रिकेट पार्कमा सम्पन्न खेलमा कर्णाली प्रदेशले प्रस्तुत गरेको ४० रनको सामान्य लक्ष्य प्रदेश–१ ले ४.५ ओभरमा विकेट नगुमाई पूरा गर्यो । शीतका कारण मैदान ओसिलो बनेपछि निर्धारित समयमा सुरु हुन नसक्दा खेल ११ ओभरमा घटाइएको थियो ।
प्रदेश–१ को जितमा ओपनरद्वय काजल श्रेष्ठ र कप्तान रुविना क्षेत्रीले क्रमशः १३ र २२ रन जोडे । कप्तान रुविनाले १४ बलमा तीन चौका र एक छक्का प्रहार गरिन् ।
यसअघि टस जितेर ब्याटिङमा आएको कर्णाली प्रदेशले निर्धारित ११ ओभरमा पाँच विकेट गुमाएर ३९ रनको योगफल खडा गरेको थियो ।
जितसँगै तीन खेलबाट ६ अंक जोडेको प्रदेश–१ शतप्रतिशत नतिजासहित प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रदेश–१ ले अब फाइनल प्रवेशका लागि समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ ।