सुनसरीबाट हुन्डीको एक करोड एक लाखसहित अन्सारी पक्राउ

न्युजलय २० जेठ २०८१, आइतबार १२:५८ मा प्रकाशित

 सुनसरी। सुनसरीबाट प्रहरीले हुन्डी कारोबारमा प्रयोग गरिएको एक करोड एक लाख रुपैयाँ बरामद गरेको छ ।

शनिबार राती हुन्डिको आशंकामा एक करोड एक लाख नगदसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सुनसरीको हरिनगर गाउँपालिका–५ बस्ने अन्दाजी ३७ वर्षीय ईसा अन्सारी रहेका छन् ।

प्रहरीका अनुसार हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शङ्का लागि चेकजाँच गर्दा कारभित्र बोरामा लुकाइछिपाइ राखेको सो रकम बरामद भएको हो ।

रकमसँगै कार र चालक अन्सारीलाई नियन्त्रणमा लिइएको छ । नगद रकम, कार र चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहिका लागि रजास्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रक्रियामा रहेको बताइएको छ ।