शेखर कोइरालाको क्षेत्रमा नगर सभापतिसहित ३ सय बढीले छाडे काँग्रेस

न्युजलय ३ फाल्गुण २०८०, बिहिबार ०८:२७ मा प्रकाशित

विराटनगर । काँग्रेस नेता शेखर कोइरालाको क्षेत्रमा तीन सय बढी काँग्रेस नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । 


काँग्रेस छाड्नेमा नेपाली काँग्रेस बेलबारी नगरपालिका वडाका २ का वडा सभापतिसमेत छन् । बुधवार उनीहरूले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । २०७९ को स्थानीय तहको निर्वाचनमा अन्तर्घात गर्नेलाई जिम्मेवारी दिएको भन्दै पार्टी परित्याग गर्ने घोषणा गरेका हुन् ।


क्षेत्रीय प्रतिनिधि मणि सुन्दर थापाका अनुसार काँग्रेसकै उम्मेदवारलाई हराउनेलाई कार्यवाहक सभापति दिइएको छ । 


पार्टी परित्याग गर्नेमा वडा सभापति बिचारी लिम्बु, वरिष्ठ उपसभापति राजकुमार धिमाल, अर्जुन कार्की, सचिव रेखबहादुर कोइराला, तरुण दल बेलबारी २ का सभापति अनिल कार्की, क्षेत्रीय प्रतिनिधि मणि सुन्दर थापा लगायत रहेका छन् । थापा गत स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको उम्मेदवार थिए । उनी झिनो मतले पराजित बनेका थिए । नेकपा एमालेका कृष्ण बहादुर गुरुङ १५५८ र थापाले १५३९ मत परिणाम पाएका थिए ।


वर्तमान सभापति बिचारी लिम्बुलाई विना जानकारी हटाएर वडा सदस्य दीपकलाई कार्यवाहक दिएपछि वडा काँग्रेसमा भाँडभैलो भएको हो । दुई दिन अगाडी मात्रै नगर समितिका सभापति छत्र लिम्बुले उनलाई कार्यवाहकको जिम्मेवारी तोकेका थिए ।