२० वर्षमुनिको एसियाकप छनोटमा नेपाल कतारसँग पराजित

न्युजलय २८ भदौ २०७९, मङ्गलबार ०१:३६ मा प्रकाशित

काठमाडौं । २० वर्षमुनिको एसियाकप फुटबल छनोटमा नेपाल कतारसँग ३–१ गोल अन्तरले पराजित भएको छ ।


शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा गएराति भएको खेलमा नेपाल कतारसँग ३–१ गोल अन्तरले पराजित भएको हो । यो नेपालको लगातार दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल भुटानसँग २–० गोलले पराजित भएको थियो ।


कतारको लागि मोहमद मन्सुर अली, मोहमद सुराग र राशिद अब्दुलाजिज अल अब्दुलाले एक–एक गोल गरे । नेपालले एउटा आत्मघाती गोल उपहार पाएको हो । यस जितसँगै कतारले पहिलो खेलमा ३ अङ्क जोडेको छ ।


लगातार दुई खेलमा हार बेहोरेको नेपालले भने अङ्क जोड्न सकेको छैन । समूह बी मा रहेको नेपाल समूहको पुछारमा रहेको छ । समूह बी मा नेपाल र कतारसँगै भुटान, आयोजक बहराइन र बङ्गलादेश रहेका छन् । अब नेपालले भोलि आयोजक बहराइनसँग र अन्तिम खेल अर्को हप्ताको आइतबार बङ्गलादेशसँग खेल्नेछ ।


समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने २० वर्षमुनिको एसियन कपमा स्थान बनाउने छन् ।