२०७८ साल मङ्सिर १३ गते सोमबार

भारतीय फूललाई रोक्न नसक्दा नेपाली फूल नै बिकेनन्

न्युजलय १८ कार्तिक २०७८, बिहिबार ०९:२२ मा प्रकाशित

काठमाण्डौ । भारतीय फूललाई रोक्न नसक्दा नेपाली व्यापारी तथा किसानहरु मारमा परेका छन् । 

सस्तो मूल्यमा धेरै परिमाणमा भारतीय फूल र माला भित्रिँदा नेपाली फूलहरुले बजार नपाएका हुन् । भारतीय माला दुई हजार रुपैयाँसम्ममा बिक्री हुँदा नेपाली फूलको माला प्रति माला पाँच सय रुपैयाँमा समेत बेच्न मुस्किल परेको किसान र व्यापारीले गुनासो गरेका छन् । 

लक्ष्मी पूजा र गोवर्द्धन पूजाको दिन सयपत्री, मखमली लगायतका फूलको बिक्री धेरै हुने गर्छ । कात्तिक पहिलो हप्ता देशभर परेको बेमौसमी वर्षाले मुख्य कृषि बालीसँगै फूल खेतीमा पनि क्षति गरेको थियो । वर्षाले देशभर लगाइएको र बिक्रीका लागि तयारी अवस्थामा रहेका फूलमा धेरै क्षति भयो । 

यो वर्षको तिहारमा फूलमालाको माग बढ्ने र यसको प्रत्यक्ष लाभ नेपाली किसानले गर्ने अनुमान गरिएको थियो । नेपाली किसानले फूलखेतीसमेत गरेका थिए । तर बेमौसमी वर्षाका कारण नेपाली किसानले लगाएको फूल बारीमै नष्ट भएको र भारतीय फूल पनि अझ धेरै परिमाणमा भित्रिएको हो । 

गएको वर्षको तुलनामा पाँच लाख बढी मालाको माग बजारमा आउने अनुमान गरिएको छ । नेपालमा वार्षिक झन्डै तीन अर्ब रुपैयाँ बराबरको फूल कारोबार हुँदै आएको बताइन्छ ।