साहित्यमार्फत् श्रष्टाहरुले सम्झे नरबहादुर कर्माचार्यलाई

न्युजलय १० साउन २०८३, आइतबार ०६:०० मा प्रकाशित

इटहरी । नेपालका क्रान्तिकारी व्यक्तित्व नरबहादुर कर्माचार्यको १३ औँ स्मृति दिवसका अवसरमा इटहरीमा काव्य गोष्ठी गरिएको छ । 


नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान, सुनसरीको आयोजनामा इटहरीस्थित नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयमा सम्पन्न गोष्ठीमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त स्रष्टाहरूले रचना वाचन गरेका थिए ।


सुनसरी र मोरङका साहित्यकार, बुद्धिजीवी, प्राध्यापक तथा पत्रकारहरूको उपस्थिति रहेको उक्त गोष्ठीमा वरिष्ठ साहित्यकारहरू कुन्ता शर्मा, वम देवान, डा. दिवाकर क्षेत्री, प्रल्हाद पहरेदार, नानुमैया दाहाल, सुविद गुरागाई, गायत्री लम्साल, जनकऋषि राई, भोलामान गुरुङ, जयकृष्ण यादव र विमला पोखरेलले सिर्जनामार्फत श्रमजीवी वर्ग, सामाजिक रूपान्तरण र कर्माचार्यको योगदान स्मरण गरेका थिए ।


कार्यक्रमका सभापति तथा प्रतिष्ठानका अध्यक्ष निर्मल बरालले नरबहादुर कर्माचार्यलाई सम्झँदै महान् व्यक्तित्वहरू पद वा प्रतिष्ठालेभन्दा पनि आफ्ना विचार, त्याग र उच्च कर्मका कारण युगौँसम्म अमर रहने बताए । त्यस्तै प्रतिष्ठानका सचिव पुष्प ढुङ्गानाले साहित्यले समाज परिवर्तनको चेतना बोक्ने गरेको बताए ।


कार्यक्रमको समीक्षा गर्दै वरिष्ठ साहित्यकार कुन्ता शर्माले नरबहादुर कर्माचार्यको विचारलाई साहित्यिक माध्यमबाट जनस्तरसम्म पुर्‍याउने प्रयासको सह्रना गरिन् ।