काठमाडौं । अस्ट्रेलियाविरुद्धको टी–२० सिरिज भारतले जितेको छ । गएराति सम्पन्न तेस्रो खेलमा अस्ट्रेलियालाई ६ विकेटले हराउँदै भारतले सिरिज २–१ ले जितेको हो ।
निर्णायक तथा तेस्रो खेलमा अस्ट्रेलियाले दिएको १ सय ८७ रनको लक्ष्य भारतले १९.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । उसका लागि सूर्यकुमार यादव र विराट कोहलीले अर्धशतकीय पारी खेले ।
३६ बलको सामना गरेका यादवले पाँच छक्का र पाँच चौकासहित ६९ रन बनाए । त्यस्तै, कोहलीले ४८ बलमा तीन चौका र चार छक्काको सहयोगमा ६३ रनको योगदान दिए । हार्दिक पाण्ड्याले अविजित २५ र रोहित शर्माले १७ रन जोडे । केएल राहुल एक रनमा आउट भए ।
अस्ट्रेलियाका लागि डानियल साम्स, जोस हेजलउड र प्याट कमिन्सले समान एक विकेट लिए । त्यसअघि हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८६ रन बनायो । उसका लागि क्यामरुन ग्रीन र टिम डेविडले अर्धशतकीय पारी खेले ।
२१ बलको सामना गरेका ग्रीनले सात चौका र तीन छक्काको मद्दतमा ५२ रन बनाए । त्यस्तै, डेविडले २७ बलमा चार छक्का र दुई चौकाको सहयोगमा ५४ रन बनाए । डानियल साम्सले अविजित २८ र जोस इंग्लिसले २४ रनको योगदान दिए ।
बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । भारतका लागि अक्षर पटेलले तीन, युजवेन्द्र चहल, हर्षल पटेल र भुवनेश्वर कुमारले एकरएक विकेट लिए । सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले भारतलाई ४ विकेटले हराएको थियो । दोस्रो खेलमा भने ऊ ६ विकेटले पराजित भएको थियो ।