सन्दीप विरुद्ध ‘डिफ्युजन नोटिस’ जारी

न्युजलय ११ असोज २०७९, मङ्गलबार ०१:३७ मा प्रकाशित

काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्ध ‘डिफ्युजन नोटिस’ जारी भएको छ।


नेपाल प्रहरीको इन्टरपोल शाखाको प्रस्तावमा इन्टरपोलले लामिछानेलाई पक्राउ गर्न ‘डिफ्युजन नोटिस’ जारी गरेको हो। लामिछाने विरुद्ध ‘डिफ्युजन नोटिस’ जारी भएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले बताए।


प्रहरीले विदेशमा रहेका व्यक्तिलाई पक्राउ गर्न प्रहरीको अन्तरदेशीय संगठन इन्टरपोलको सहयोग लिने गरेको छ। यसमा नेपाल सहित १९४ देशका प्रहरी संगठन आवद्ध छन्।


अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गर्न इन्टरपोल मुख्यालयले जारी गर्ने सूचनालाई ‘रेड कर्नर नोटिस’ भन्ने गरिन्छ। तर, कुनै पनि देशको इन्टरपोल शाखाको प्रस्तावमा इन्टरपोलले जारी गर्ने सूचनालाई ‘डिफ्युजन नोटिस’ भन्ने गरिएको प्रहरी अधिकारी बताउँछन्। दुवैको प्रयोजन एउटै हुने गरेको प्रहरीको भनाइ छ।


यसअघि नेपाल प्रहरीले लामिछाने विरुद्ध काठमाडौं जिल्ला अदालतको अनुमतिमा पक्राउ पुर्जी जारी गरेको थियो। उनी विदेशमा रहेकाले इन्टरपोल शाखामार्फत ‘डिफ्युजन नोटिस’ जारी गरिएको प्रहरीले जनाएको छ।