इटहरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) सुनसरीले हिसान स्पोर्टस् मिटमा एन्फासँग सहकार्य थालेको छ । यससँगै कपको नाम ‘हिसान–एन्फा सुनसरी कप’ राखिएको छ ।
यसै साताबाट सुरु भएको १० औं हिसान स्पोर्ट्स् मिटअन्तर्गत फुटबल प्रतियोगिताका विजेताले पहिलो पटक ३० हजार नगद राशीसहित शिल्ड पाउनेछन् । नयाँ सहकार्यले खेलाडीहरुलाई प्रोत्साहन मिल्ने र स्पोर्टस् मिटको समेत स्तरीकरण हुने हिसान सुनसरी अध्यक्ष सागर भट्टराईले बताएका छन् । ‘रनिङ सिल्ड’ ढाँचामा सञ्चालन हुनेछ, जसलाई क्रमशः उमेर समूहको गोल्ड कपका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।
साथै यसै वर्षदेखि एथलेटिक्सका खेलहरू पनि समावेश गरेको जनाइएको छ ।
हिसान स्पोर्टस् मिटको १० औँ संस्करण २०८० माघ १३ देखि २० गतेसम्म सञ्चालन हुँदै छ, जसमा सुनसरीका २९ निजी शिक्षालयहरूमा कक्षा ११–१२ अध्ययनरत दुई हजारभन्दा बढी छात्रछात्रा खेलाडीका रूपमा सहभागी हुनेछन् ।
जिल्लाका उच्चमाध्यमिक तहका संस्थागत शिक्षालयहरूले १५ वर्षदेखि प्रतियोगितात्मक खेलकुद गतिविधि सञ्चालित गर्दै आएकोमा २०६९ सालदेखि सो अतिरिक्त क्रियाकलापलाई ‘हिसान स्पोर्टस् मिट’का नाममा सञ्चालन गर्दै आएका छन् ।
हिसान सुनसरीको विद्यालय शाखामातहत दोस्रो स्पोर्टस् मिट (कक्षा १–१० सम्म) भने २०८० माघ १० गतेदेखि सञ्चालन भइरहेको छ ।
स्पोर्टस् मिटअन्तर्गत हिसान सुनसरीले गत वर्षदेखि धरान रनको प्राविधिक सहयोगमा अन्डर १६ समूहमा हिसान रन (पाँच किलोमिटर) सुरु गरेको छ । यो वर्ष पनि माघ १४ गते उक्त प्रतियोगिता सञ्चालन हुनेछ । जसमा पाँच सयभन्दा बढी विद्यार्थी सहभागी हुने अनुमान गरिएको छ ।
हेमन्त भण्डारी मूल संयोजक र सुवास लुइटेल सहसंयोजक रहेको १० औँ हिसान स्पोर्टस् मिट सञ्चालनमा १५ लाख रुपैयाँ खर्च हुने हुने अनुमान गरिएको छ ।