एम्बुलेन्सको ठक्करबाट सुनसरीमा एक जनाको मृत्यु

न्युजलय १० जेठ २०८१, बिहिबार ११:३९ मा प्रकाशित

इटहरी । सुनसरीमा एम्बुलेन्सको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।

बुधबार राति सुनसरीको कोसी गाउँपालिका ८ भण्टाबारीस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको एम्बुलेन्सले नाम, थर, वतन नखुलेको, मानसिक सन्तुलन ठीक नभएकोजस्तो देखिने पुरुषलाई ठक्कर दिँदा मृत्यु भएको हो ।

हेर्दा तराइ मुलको जस्तो देखिने, बोल्न नसक्ने अन्दाजी ५० वर्षीय पुरुषलाई ठक्कर दिँदा ती पुरुष गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र उपचारको क्रममा आज बिहानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

ठक्कर दिने सवारी साधन तत्काल फरार रहेकाले पहिचानका लागि खोजतलास भइरहेको प्रहरीको भनाइ छ ।

एम्बुलेन्स तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।