भारतलाई यू–१९ विश्वकप जिताएका चन्दले नेपाल टी–२० लिग खेल्ने

न्युजलय ४ पुस २०७९, सोमबार ०१:५९ मा प्रकाशित

काठमाडौं । भारतीय यू–१९ विश्वकप विजेता कप्तान उन्मुक्त चन्दले आसन्न संस्करणको नेपाल टी–२० लिग खेल्ने भएका छन् । उनले लुम्बिनी अल स्टारबाट लिग खेल्ने भएका हुन् ।


२९ वर्षीय चन्दले २०१२ मा अस्ट्रेलियामा आयोजना भएको यू–१९ विश्वकपमा भारतलाई उपाधि दिलाएका थिए । उनले गत संस्करणमा अस्ट्रेलियाको बिग बास लिग (बिबिएल) पनि खेलेका थिए । २९ वर्षीय चन्द बिबिएल खेल्ने पहिलो भारतीय खेलाडी हुन् ।


उनले विभिन्न टिमबाट २१ आइपिएल म्याच पनि खेलिसकेका छन् । लुम्बिनीले यसअघि दक्षिण अफ्रिकाका क्रिकेटर क्लाउड भान शाल्विक तथा आयरल्याण्डका ह्यारी टेक्टरलाई अनुबन्ध गरेको थियो ।


पहिलो संस्करणको नेपाल टी–२० यही ८ पुसबाट सुरु हुँदैछ । लुम्बिनीको पहिलो खेल ८ गते नै फार वेस्टर्न युनाईटेडविरुद्ध खेल्ने तालिका रहेको छ । 


६ टोली सहभागी यस प्रतियोगिता डबल राउन्ड रोविनको आधारमा हुनेछ ।