काठमाडौ । सरकारले टिकटकलाई नेपालमा प्रतिबन्ध लगाए पनि अवैध रूपमा यसको प्रयोग रोकिएको छैन । अहिले डोमिन नेम सिस्टम (डिएनएस) र भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) का माध्यमबाट टिकटक सञ्चालन भइरहेको छ ।
डिएनएस र भीपीएनको प्रयोग व्यक्तिगत डाटा र साइबर सुरक्षाको दृष्टिकोणले निकै जोखिमयुक्त हुने साइबर सुरक्षाविज्ञहरु बताउँछन् ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रीपरिषद्को निर्णयले प्रतिबन्ध गरेको टिकटक अन्य गेटवेमार्फत चलाउनु आफैँमा गैरकानुनी रहेको साथै जोखिपूर्णसमेत रहेको बताइन् । उनले यसअघि पनि विभिन्न बहानामा सर्वसाधारण ठगिएका घटना धेरै आएको बताउँदै भिपिएन र डिएनएसको प्रयोग गर्दा जोखिम हुने विषयप्रति सचेत हुन सबै प्रयोगकर्तालाई आग्रह गरेकी छिन् ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान फेडेरेसनका महासचिव एवं साइबर सुरक्षाविज्ञ चिरञ्जीवी अधिकारीले टिकटक चलाउन प्रयोग भइरहेका भिपिएन र डिएनएस व्यक्तिगत डाटा सुरक्षामा जोखिमपूर्ण हुने बताएका छन् । भिपिएन प्रयोग गर्नुपूर्व त्यसका सर्तहरूमा कहाँ कहाँ एक्सेस राख्ने भन्ने निर्धारण गरिएको हुने र त्यो नबुझी प्रयोग गर्दा खतरा हुने उनीहरुको भनाई छ ।
साइबर सुरक्षाविज्ञ अधिकारीले नेपालमा केही दिनयता एक लाखभन्दा बढी भिपिएन र डिएनएस प्रयोग भइरहेको बताउँदै निःशुल्क प्राप्त भिपिएन र डिएनएसले डाटादेखि बैङ्क खातामा पनि पहुँच हुने भएकाले प्रयोग नगर्न सुझाव दिए । शुल्क तिरेर प्रयोग गर्न मिल्ने भिपिएन एप केही सुरक्षित हुने बताउँदै निःशुल्क एप भने जोखिमपूर्ण हुने बताए ।