एसीसी महिला टी–२० च्याम्पियनसिपः हङकङसँग हार्‍यो नेपाल

न्युजलय ७ असार २०७९, मङ्गलबार ०८:४८ मा प्रकाशित

काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ । मंगलबार (आज) को खेलमा हार व्यहोरेको नेपालले सेमिफाइनलमा युएईको सामना गर्ने छ ।

नेपालले दिएको ११० रनको लक्ष्य पछ्याएको हङकङले १५.५ ओभरमा ३ विकेट गुमाउँदै ११२ बनाएर जित हासिल गर्यो ।

यसअघि मलेसियाको किनरारा मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३२ बनाइन् । विन्दु रावल २३ र अप्सरी बेगमले २२ रन बनाइन् ।

खेलमा लगातार ६ विकेट गुमाएको नेपालले १५ ओभरपश्चात मात्र सम्हालिएको खेल प्रस्तुत गरेको थियो । समूह ‘बी’ मा रहेको नेपाल ३ खेलमा ६ अंकका साथ सेमिफाइनलमा पुगिसकेको छ । 

नेपाल यो खेलमा पराजित हुँदै सेमिफाइनलमा युएईको सामना गर्ने पक्का भएको छ । समूह ‘ए’ को विजेता युएई नेपालको लागि बलियो प्रतिस्पर्धी हो ।