कार्यकर्ता रिहाइको माग गर्दै जनमत पार्टीद्वारा आन्दोलनको घोषणा

न्युजलय ८ कार्तिक २०७८, सोमबार ०२:३४ मा प्रकाशित

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । 


आइतबार जनमत पार्टीले प्रहरीले पक्राउ गरेका आफ्ना १७ जना कार्यकर्ताहरूलाई निःशर्त रिहाइ गर्न माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । 


४ कात्तिकमा जनकारबाही भन्दै जनमत पार्टीका कार्यकर्ताले खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख इन्जिनियर राजेश कुशवाहालाई अर्धनग्न बनाएर नगर परिक्रमा गराएको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले १७ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो । 


जनमत पार्टीले पक्राउ परेकाहरूलाई तत्काल रिहा नगरे कडा आन्दोलन गर्ने र त्यसबाट हुने जनधनको क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएको छ । जनमत पार्टीले ५ कात्तिकमा जनकपुरधामको भानुचौकमा रहेको केन्द्रीय सचिवालयमाथि आक्रमण भएको भन्दै ४८ घण्टाभित्र दोषीमाथि कारबाही गर्न जिल्ला प्रहरी कार्यालय धनुषालाई अल्टिमेटम पनि दिएको छ ।


आन्दोलनको घोषणासँगै जिल्ला प्रहरी कार्यालय धनुषाले सुरक्षा व्यवस्था थप कडा बनाएको प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।