काठमाडौं । आगामी २४ सप्टेम्बर देखि २२ अक्टोबर (८ असोज देखि ५ कार्तिक)सम्मका लागि तय भएको नेपाल टी–२० लिगको पहिलो संस्करण निर्धारित मितिमा नहुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार गृह मन्त्रालयको निर्देशनअनुसार लिग निर्धारित मितिमा नभई अब डिसेम्बरमा हुने बताएको हो ।
क्यानले नयाँ मिति भने तय गरको छैन ।
गृह मन्त्रालयले प्रतियोगिताको पूर्वनिर्धारित समयमा आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका विभिन्न कार्यक्रम हुने भएकाले सुरक्षा प्रदान हुन नसक्ने भन्दै प्रतियोगिता सार्न क्यानलाई निर्देशनात्मक पत्र पठाएको थियो ।
पहिलो संस्करणमा काठमाडौं कान्तिपुर, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्टर्न युनाइटेडले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताका लागि ड्राफमार्फत टोलीले खेलाडी अनुबन्ध पनि गरिसकेका छन् ।