सामूहिक हत्या प्रकरणः २० वर्ष कैद सुनाइएकी महिला पक्राउ

न्युजलय ११ माघ २०८०, बिहिबार ०३:०३ मा प्रकाशित

विराटनगर । संखुवासभामा २० वर्षअघि भएको सामूहिक हत्या प्रकरणमा संलग्न एक जना महिलालाई प्रहरीले मोरङको केराबारीबाट पक्राउ गरेको छ। 

कर्तव्य ज्यान मुद्दामा अदातलबाट दोषी ठहर भए पनि सजाय भुक्तान नगरिकन फरार बनेकी संखुवासभाको साविकको शिद्धकाली गाविस–२ (हालको चैनपुर नगरपालिका) की अन्दाजी ३५ वर्षीया कैली तामाङ पक्राउ परेकी हुन्। 

मोरङको केराबारी गाउँपालिका–१० स्थित मोहन नेपालको घरबाट तामाङलाई बुधबार पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

२०६० सालमा २ जना पुरुषको सामूहिक हत्या गरिएको घटनामा संलग्न भएकी तामाङ फरार हुँदै मोरङ झरेको र अहिले नेपालकै घरमा डेरा बस्दै आएको खुलेको छ। 

कर्तव्य ज्यान मुद्दाकी प्रतिवादी तामाङलाई घटनामा संलग्न रहेको भनेर संखुवासभा जिल्ला अदालत चैनपुरले दोषी ठहर गरिसकेको छ। अदालतले २०६६ साल फागुन १२ गते मुद्दाको किनारा लगाउँदै उनलाई २० वर्ष कैद सजाय हुने फैसला गरेको थियो। 

हत्यापछि भागेकी उनी सजाय भुक्तान नगरिकन मोरङको ग्रामीण क्षेत्रमा लुकिछिपी बस्दै आएकी थिइन्। मोरङबाट पक्राउ गरेर प्रहरीले तामाङलाई बिहीबार संखुवासभास्थित इलाका प्रहरी कार्यालय चैनपुरको जिम्मा लगाएको छ। प्रहरीले संखुवासभा पुर्‍याएर उनलाई अदालतमा पेस गर्ने तयारी गरेको छ।