काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो तेस्रो खेलमा स्कटल्यान्डले नामिबियालाई ४३ रनले हराएको छ ।
स्कटल्यान्डले दिएको २२२ रनको लक्ष्य पछ्याएको नामिबिया ३८.४ ओभरमा सबै विकेट गुमाएर १७८ रन बनाएको हो । लो ह्यान्ड्रे लोरेन्सले सर्वाधिक ५२ रन बनाए । त्यस्तै गेह्राड इरास्मसले ४३ रन बनाउँदा जेन ग्रीनले २५ रनको योगदान गरे ।
स्कटल्यान्डका लागि मार्क वाटले सर्वाधिक ४ विकेट लिए । ८.४ ओभर बलिङ गरेका उनले २ ओभर मेडन राख्दै ४१ रन खर्चिएका थिए । त्यस्तै माइकल लिस्कले ३, ब्रान्डन म्याकुलनले २ र क्रिस ग्रिभ्सले १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै २२१ रन बनाएको थियो ।
स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्राइडले सर्वाधिक ४७ रनको योगदान दिए भने टमस म्याकिन्टोसले ३४ तथा कप्तान रिची बेरिङ्टनले ३२ बनाए । त्यस्तै, माइकल लिस्कले २९ रन बनाउँदा म्याथ्यु क्रसले १६ रन तथा क्रिस ग्रेभेसले १४ रन जोडे । मार्क वाटले १० रन बनाए ।
नामिबियाका लागि रुबेन ट्रम्पेलम्यान एक्लैले ५ विकेट लिए भने ट्यांगेनी लुंगामेनीले २ विकेट लिए । त्यस्तै बेर्नार्ड स्कोल्ट्ज, बेन सिकोन्गो र पिक्की या फ्रान्सले समान एक/एक विकेट लिए ।
स्कटल्यान्ड यसअघि नै लिग-२ को विजेता बनिसकेको छ । अब स्कटल्यान्डले शृखलाको अन्तिम खेलका रूपमा मंगलबार नेपालसँग दोस्रो खेल खेल्दैछ । यसअघि नेपालले स्कटल्यान्डलाई ३ विकेटले हराएको थियो । नामिबियाविरुद्ध दुवै खेल पनि नेपालले जितेको थियो । पहिलो खेलमा २ विकेटको जित हात पारेको नेपालले दोस्रो खेलमा ३ विकेटले हराएको थियो । यससँगै नामिबियाले श्रृंखलाका चारै खेलमा पराजय बेहोरेको छ ।