इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. ९ मा रहेको क्रिकेट मैदान र पिचको स्तरोन्नति हुने भएको छ । समय समयमा गर्नुपर्ने मर्मतका लागि वडा कार्यालयले बजेट दिने भएपछि मर्मत हुने भएको हो । त्यसको लागि लागत इस्टीमेट गर्ने काम भइरहेको छ ।
आगामी दिनमा सञ्चालन हुने विभिन्न क्रिकेट प्रतियोगिताहरूलाई लक्षित गर्दै खेलाडीहरूलाई गुणस्तरीय र सुरक्षित पूर्वाधार उपलब्ध गराउन मर्मत गर्न लागिएको वडाध्यक्ष जितेन बस्नेतले जानकारी दिए । लामो समयदेखि पिच मर्मत नहुँदा खेल प्रतियोगिता गराउन समस्या भएको थियो । आगामी दुई महिनाभित्र मैदान तथा पिच मर्मतको सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । थापाले भने, युवाहरुको प्रतिभालाई निखार्न र स्तरीय प्रतियोगिताहरू आयोजना गर्नका लागि व्यवस्थित मैदान आवश्यक भएकाले वडाको बजेटबाटै मर्मत कार्य अघि बढाएका हौँ ।
क्यान सुनसरीका निवर्तमान अध्यक्ष सीपी पौडेलले मैदान मर्मत भएसँगै इटहरी ९ मा स्थानीय तथा क्षेत्रीय स्तरका क्रिकेट प्रतियोगिताहरू आयोजना गर्न सहज हुने र यसले समग्र नगरकै खेलकुद विकासमा सकारात्मक योगदान पुर्याउने बताए ।