रोनाल्डोले खेल हारेपछि मेस्सी भन्दै जिस्काइयो, रोनाल्डोले देखाए गुप्ताङ्ग

न्युजलय १२ बैशाख २०८०, मङ्गलबार ०१:५९ मा प्रकाशित

एजेन्सी । पोर्चुगलका ३८ वर्षीय स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई गत वर्षको डिसेम्बरमा साउदी क्लब अल–नासरले हरेक वर्ष २ सय मिलियन अमेरिकी डलर तलब दिने सर्तमा अनुबन्ध गरेको थियो । उनले अल–नासरसँग सन् २०२५ जुन महिनासम्मको सम्झौता गरेका छन् ।

तर, उनलाई साउदीमा पनि मेस्सीका समर्थकले जिस्क्याउन छाडेका छैनन् । यसै हप्ताको मंगलबार राति साउदी प्रो लिगमा रोनाल्डोको टोली अल–नासर अल–हिलाल क्लबसँग २–० ले पराजित भयो ।

यो पराजयसँगै रोनाल्डोको अल–नासर लिगको दोस्रो स्थानमा झरेको छ । अल–हिलाल शीर्ष स्थानमा उक्लिएको छ । २३ खेल खेलेको अल–हिलाल ५३ अंक भएको नासरभन्दा मात्र ३ अंकले अगाडि छ ।

रोनाल्डो खेल हारेर जब मैदानबाट ड्रेसिङ रुम छिर्दै थिए तब विपक्षी समर्थकले खेल हारेको रोनाल्डोलाई मेस्सी, मेस्सी भन्दै जिस्क्याएका थिए । रोनाल्डोले आफूलाई जिस्क्याउने दर्शकलाई आफ्नो गुप्तांग देखाएर प्रतिकार गरेपछि उनीविरुद्ध विपक्षी समर्थक र वकिलहरूले गलत व्यवहार गरेको भन्दै मुद्दा हालेका छन् ।

उनलाई अब साउदीबाट देश निकाला गर्नुपर्छ भनेर आवाज उठिरहेको छ । उनले गरेको अनैतिक व्यवहार साउदीमा सार्वजनिक बेइज्जतीको अपराध मानिन्छ । यो एक अपराध हो जुन विदेशीले गरेको खण्डमा गिरफ्तार वा देश निकाला हुन सक्छन् ।