‘प्रेम गीत ३’ समूह इटहरीमा, फिल्म हेरिदिन आग्रह

न्युजलय २६ भदौ २०७९, आइतबार १२:०० मा प्रकाशित

इटहरी । प्रदर्शनको मिति नजिकिँदै गर्दा फिल्म  ‘प्रेम गीत ३’ ले आफ्नो प्रचार प्रसारलाई तीव्रता दिएको छ । 

फिल्मको प्रचार प्रसारकालागि शनिबार ‘प्रेम गीत ३’ का कार्यकारी निर्माता चक्र बहादुर चन्द कलाकार सुनिल थापा, प्रेम पुरी गायक प्रताप दास इटहरीमा आए । 

पत्रकार सम्मेलनको आयोजना गरेर फिल्मको बारे जानकारी गराउँदै उनीहरूले हलसम्म गएर फिल्म हेरिदिन आग्रह गरे ।  

नेपाली सिनेमाको इतिहासमा पहिलो पटक ‘प्रेम गीत ३’ नेपाली र हिन्दी भाषामा प्रदर्शनमा आउँदैछ ।  आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको फिल्मको नेपाली र हिन्दी भाषाका ट्रेलर सार्वजनिक भइसकेका छन् । 

स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

‘प्रेमगीत ३’ले हिन्दी भाषामा डब भएर भारतमा प्रदर्शन हुने नेपालको पहिलो फिल्मको रुपमा इतिहास बनाउने क्रममा रहेको छ ।