काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान एवं गोलकिपर किरणकुमार चेम्जोङ बुधबार (आज) दुलाहा बनेका छन्।
उनले प्रेमिका कञ्चन निरौलासँग विवाह गर्न लागेका हुन्। उनीहरूले सोमबार मेहेन्दी कार्यक्रम गरेका थिए। यसअघि गत असार २१ गते किरणले कञ्चनलाई माल्दिभ्समा विवाह प्रस्ताव राखेका थिए।
माल्दिभ्सको शीर्ष डिभिजनको फुटबल लिगलाई अविस्मरणीय बनाउने क्रममा किरणले लिगकै सर्वोत्कृष्ट गोलिकपर घोषित भए लगत्तै कञ्चनलाई विवाह प्रस्ताव राखेका थिए।
उनी आबद्ध क्लब माजियाका खेलाडीले लिगको ट्रफी उचालेर खुसी मनाइरहँदा उनले आफ्नी प्रेमिकालाई हातमा समातेर मैदानमै लगेका थिए।
त्यसपछि किरणले मैदानमै प्रेमिका कञ्चनलाई सबै सहकर्मीका अघि औंठी लगाइदिएर विवाह प्रस्ताव राखेका थिए। कञ्चन पेशाले एयरहोस्टेस हुन्। केही वर्षदेखि प्रेममा रहेका उनीहरूको आज विवाह गर्न लागेका हुन्।