एजेन्सी । भारतविरुद्धको टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा घरेलु टोली वेस्ट इण्डिजले जित हात पारेको छ । पाँच विकेटको जित हात पारेको हो ।
वेस्ट इण्डिजको यो जितसँगै पाँच खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ । भारतले दिएको १३९ रनको लक्ष्य वेस्ट इण्डिजले १९।२ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टायो ।
घरेलु टोलीका लागि ब्रेन्डन किंग्सले अर्धशतकीय पारी खेले । ५२ बलको सामना गरेका उनले आठ चौका र दुई छक्का प्रहार गरे । डेभन थोमस ३१ रनमा अविजित रहँदा कप्तान निकोलस पूरनले १४ रन जोडे ।
भारतका लागि अर्शदीप सिंह, रवीन्द्र जडेजा, रवीचन्द्रन आश्विन, हार्दिक पाड्या आवेश खानले एक एक विकेट हात पारे । त्यसअघि सेन्ट किट्सस्थित वार्नर पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनाएको थियो ।
उसका लागि हार्दिक पाड्याले सर्वाधिक ३१ रनको योगदान दिए । रवीन्द्र जडेजाले २७, ऋषभ पन्तले २४, सूर्यकुमार यादवले ११ तथा श्रेयस अय्यर र रवीचन्द्रन आश्विनले १०–१० रन जोडे ।
वेस्ट इण्डिजका लागि ओबेड म्याकोयले ४ ओभरमा एक मेडनसहित १७ रन दिएर ६ विकेट लिए । त्यतै, जेसन होल्डरले दुई, अल्जारी जोसेफ र अकिल हुसेनले एक एक विकेट हात पारे । पहिलो खेलमा भारत ६८ रनले विजयी भएको थियो । भारत र वेस्ट इण्डिजबीचको तेस्रो खेल आज हुनेछ ।