काठमाडौँ । भोजपुरमा पेस्तोल देखाएर लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
लुटपाट गरेको आरोपमा प्रहरीले टेम्के मैयुङ गाउँपालिका –१ तिम्मा बस्ने ३७ वर्षीय सुमित परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
आइतबार बिहान षडानन्द नगरपालिका –२ बस्ने ८५ वर्षीया पासाङ ल्हामु शेर्पालाई जुगे जंगलमा पेस्तोल देखाएर सुनका गरगहना तथा नगद लुटपाट गरेको आरोप छ। आइतबार अपराह्न ५ बजे यसरी लुटपाट भएको भन्ने खबर प्रहरीलाई प्राप्त भएको थियो।
उक्त खबरपछि प्रहरीको टोलीले राति षडानन्द–९ स्थित भुल्केटोलस्थित जंगलजाने मूलबाटोमा परियार भेटिएका थिए। उनीमाथि सोधपुछ तथा उनको झोला खोलेर हेर्दा पेस्तोल र शेर्पाका गरगहना फेला परेको थियो।
उनीबाट एउटा पेस्तोल, एउटा म्याग्जिन, ७ वटा गोली, सेतो प्लाष्टिकमा बेरिएको चार वटा गोली, ९ हजार रुपैयाँ बरामद भएको छ।
यसअघि २०७६ फागुन २१ गते संगठित अपराध, आपराधिक उपद्रव, एनसेलको टावर आगजनी, जेसिबी आगजनी, राज्यविरूद्धको कसुर लगायत पाँच वटा मुद्दामा उनलाई ३ वर्ष ३ महिना कैद सजाय तोकिएको थियो। उनी उक्त सजाय भुक्तान गरी २०८० भदौमा कारागारबाट छुटेका हुन्।