विराटनगर । मृत्यु भएको ठानेर अन्त्येष्टि गरिएका मोरङको लेटाङका पदमबहादुर राय घर फर्किएका छन् ।
गत जेठमा मृत्यु भएको ठानेर अन्त्येष्टि गरिएका ३७ वर्षीय पदमबहादुर जीवितै भेटिएका हुन्।
लेटाङ नगरपालिका–५ खेरूवाका पदमबहादुरको मृत्यु भएको विश्वासमा परिवारले अन्त्येष्टि गरेको थियो।
मृत्युका आधारमा दुर्घटना बीमाको ५ लाख ५० हजार रुपैयाँ समेत प्राप्त भएको थियो। तर, घटनाको छ महिनापछि पदमबहादुर घर फर्किएपछि शवको पहिचानदेखि बीमा भुक्तानीसम्मका विषय पुनः परीक्षण गर्नुपर्ने भएको छ।
मोरङका प्रहरीले दिएको जानकारी अनुसार परिवारले पदमबहादुर जीवितै रहेको पुष्टि गरेपछि प्रहरीले घटनासँग सम्बन्धित पुराना तस्बिर र भिडिओको अध्ययन थालेको छ।
यो घटना सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित चतरा–पकली सडकखण्डमा भएको थियो।
प्रहरीका अनुसार २०८३ जेठ २६ गते बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भएका थिए।
उपचारका लागि उनलाई बुढीगंगास्थित विराट टिचिङ अस्पताल लगियो। उपचारकै क्रममा मृत्यु भएपछि शव कोशी अस्पतालको शवगृहमा राखिएको थियो। मृतकको पहिचान खुल्न नसकेपछि प्रहरीले आफन्तलाई सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको थियो।
सूचनापछि पदमबहादुरकी आमा अस्पताल पुगिन्। उनले शव आफ्नै छोराको भएको बताइन्। प्रहरीले सनाखतका आधारमा आवश्यक प्रक्रिया पूरा गरेपछि शव परिवारलाई बुझायो। परिवारले जेठ २७ गते उनको अन्त्येष्टि गर्यो।
त्यसपछि परिवारले पदमबहादुरको मृत्यु भएको ठानेर शोक र अन्त्येष्टिसँग सम्बन्धित प्रक्रिया पूरा गरिसकेको थियो। अहिले उनी जीवितै फर्किएपछि त्यसबेला अस्पतालमा मृत्यु भएका व्यक्तिको पहिचान खुलाउनु आवश्यक भएको छ।
इलाका प्रहरी कार्यालय लेटाङका अनुसार पदमबहादुर २०८२ माघदेखि घरबाहिर थिए। उनी घर छाडेर हिँड्ने गरेको विवरण प्रहरीले परिवारबाट पाएको थियो ।
यही परिस्थितिमा दुर्घटनामा मृत्यु भएका व्यक्तिको शव देखेपछि आमाले आफ्नै छोराको ठानेर सनाखत गरेको हुन सक्ने प्रहरीले बताएको छ ।