काठमाडौँ । अफगानिस्तानको पूर्वी भागमा आइतबार राति गएको शक्तिशाली भूकम्पले आठ सय १२ जनाको मृत्यु भएको छ भने २ हजार आठ सय १७ जना घाइते भएका छन् ।
अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार भूकम्प ६.१ म्याग्निच्युड रहेको थियो । स्थानीय समयअनुसार आइतबार राति ११ः४७ बजे जालालाबाद (नंगरहार प्रान्त) नजिकै, करिब २७ किलोमिटर टाढा, आठ किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको बताइएको छ ।
अफगानीस्तानको अन्तरिम सरकारका प्रवक्ताका अनुसार सबैभन्दा ठूलो क्षति कुनार प्रान्तका नुर्गल, सुकी, वाटापुर र चापा दारा जिल्लामा भएको छ ।
स्थानीय भौगोलिक कठिनाइका कारण उद्धारमा समस्या भइरहेको जनाइए पनि उद्धार टोली र राहत संस्था प्रभावित क्षेत्रमा पुगेर कार्य तीव्र पारिरहेको अधिकारीहरूले बताएका छन् ।
भूकम्प प्रभावित स्थानीयहरूले अन्तर्राष्ट्रिय सहयोगको माग गरेका छन् ।