बाबुआमाले लछारपछार गर्दा चार महिने शिशुको मृत्यु

न्युजलय ९ बैशाख २०८२, मङ्गलबार ०६:०२ मा प्रकाशित

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिका–१ अर्मलेमा बाबुआमाले लछारपछार गर्दा चारमहिनाको शिशुको मृत्यु भएको छ। 

स्थानीय दीपेन्द्र परियार र उनकी श्रीमती कमला परियारले गए राति मादक पदार्थ सेवन गरी चारमहिनाको छोरालाई लछारपछार गरी गम्भीर घाइते बनाएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मादक पदार्थ सेवन गरेका बाबुआमाले शिशुलाई घरको बरन्डामा गम्भीर घाइते बनाई छाडेको अवस्थामा स्थानीयले देखेपछि रामपुर अस्पताल पाल्पा लगिएकामा उपचारका क्रममा शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

शिशुको हत्या अभियोगमा बाबु दीपेन्द्र र ३५ वर्षीया आमा कमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।