धरान । धरानमा खानेपानी महसुलको मूल्य वृद्धि फिर्ता भएको छ ।
११ प्रतिशतदेखि नौ हजार नौ सय प्रतिशतसम्म महसुल वृद्धि भएपछि गत साउन ११ गतेयता यहाँका १० राजनीतिक दलसहित स्थानीय उपभोक्ताहरू आन्दोलित थिए ।
आइतबार धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङसहित बसेको सर्वदलीय बैठकले मूल्य वृद्धि फिर्ता लिने निर्णय गरेको बताइएको छ ।
खानेपानी बोर्डको आयव्ययसमेत सात दिनभित्र सार्वजनिक गर्ने निर्णय भएको छ । आर्थिक वर्ष २०७९–८० र आर्थिक वर्ष ०८०–८१ को आयव्यय सार्वजनिक गर्ने निर्णय भएको हो ।
मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्रविक्रम बेघासहित १० राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधिहरूसहित खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेल बैठकमा सहभागी थिए ।
निर्णयमा भनिएको छ, ‘खानेपानी तथा सेवा महसुल निर्धारण आयोगलाई लिखित पत्र पठाइ जवाफको आधार मानी जवाफ नआइन्जेल पुरानै महसुल यथावत् राखी पुनर्विचार गर्ने निर्णय गरियो ।’