कतार विश्वकपमा रिपोर्टिङ गर्दै गरेका अमेरिकी पत्रकारको निधन

न्युजलय २५ मङ्सिर २०७९, आइतबार १२:२३ मा प्रकाशित

काठमाडौं । कतार विश्वकपमा समाचार संकलन गरिरहेका एक पत्रकारको निधन भएको छ।


४९ वर्षीय ग्रान्ट वाल अमेरिकी खेल पत्रकारको निधन भएको हो। गत राति भएको अर्जेन्टिना र नेदरल्याण्ड्सविरुद्धको खेल हेर्दै गर्दा उनी ढलेको अलजजिराले जनाएको छ।


स्ट्रेचरमा मिडिया सेक्शनबाट बाहिर निकालिएका वाललाई अस्पताल पुर्‍याइएको थियो। उनलाई अस्पतालले मृत घोषणा गरेको थियो। घटनाका प्रत्यक्षदर्शीले चिकित्सकहरू तुरुन्तै घटनास्थलमा पुगेको जनाएका छन्।


उनको मृत्यु कारण खुल्न सकेको छैन। डिसेम्बर महिनाको शुरुवातमा लैङ्गिक अल्पसङ्यक समुदायको समर्थनमा सप्तरङ्गी टिसर्ट लगाएर स्टेडियम प्रवेश गर्न खोजेको भन्दै कतारका अधिकारीहरूले उनलाई केही बेर नियन्त्रणमा लिएका थिए ।


वालको निधनपश्चात् अमेरिकी फुटबल शोकमा छ। आफ्नो आठौं विश्वकपको रिपोर्टिङका क्रममा उनले गत बुधबार आफ्नो ४९ औं जन्मदिन मनाएका थिए।


उनको निधनपश्चात् उनलाई अमेरिका फर्काउने तयारी भइरहेको फिफाले जनाएको छ।