झापा । झापाको झिलझिलेमा बुधबार (आज) बिहान तीनजना मोटरसाइकल दुर्घटना हुँदा तीनैजनाको मृत्यु भएको छ ।
शिवसताक्षी ८ स्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट खुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको प्रदेश १–००१–००१ च ९३२९ नम्बरको बोलेरो जीप अनियन्त्रित भइ ठक्कर दिएको थियो ।
जीपको ठक्करबाट मोटरसाइकलमा सवार तीनै जनाको दुर्घटनामा मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको र एक जनालाई बीएण्डसी हस्पिटल बिर्तामोड लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको तत्काल नाम, थर, वतन खुल्न सकेको छैन ।
दुई जना अन्दाजी २५ वर्षका र एक जना १६ वर्षको रहेको प्रहरीले जनाएको छ ।
बोलेरो चालक मेचीनगर ६ बस्ने ४५ वर्षीय ऋषिराज गिरीलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।