पूर्वका दुई पुर्वमेयरसहित तीन जनालाई एमालेले गर्यो निष्काशन

न्युजलय ५ मङ्सिर २०८२, बिहिबार ११:४८ मा प्रकाशित

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको बैठकले तीन जनालाई निष्कासन गरेको छ । दुई जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।


प्रदेश कमिटी सदस्य इटहरीका द्वारिकालाल चौधरी, कोशी प्रदेश कमिटीका सल्लाहकार बिर्तामोडका ध्रुव सिवाकोटी र बुद्धशान्तीका मनोरथ तिवारीलाई पार्टीबाट निष्कासन गरेको हो । पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय भएको नेकपा एमाले कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारीले बताए ।


चौधरी र सिवाकोटी पुर्वमेयर हुन् ।


मेयर चौधरी मेयर दोहोर्याउने चाहना राखेपनि पार्टीले टिकट नदिएपछि माओवादी प्रवेश गरी प्रदेश सांसदमा उठेका थिए । जसमा रेवती भण्डारीसँग पराजित भएका थिए । पछि एमालेमा फर्किएका चौधरीले उपयुक्त भुमिका नदिइएको गुनासो गर्दै आएका थिए । यस्तै उनले पार्टीका स्थानीय नेताहरूकोसमेत आलोचना गर्दै आएका थिए । 


यस्तै बिर्तामोड नगरपालिकाका पूर्वमेयर सिवाकोटीमाथि आफ्नै घरमा काम गर्न राखिएकी किशोरीमाथि बलात्कार गरेको आरोप लागेको छ । सो अभियोगमा हिरासत बसेर उनी केही महिनाअघि धरौटीमा रिहा भएका थिए । उनको मुद्दा अदालतमा विचराधीन रहेको छ । 


यसैगरी मनोरथ तिवारी भने भदौ २४ गते भएको आगजनी तोडफोड र लुटपाटमा संलग्न थिए । उनी पार्टी नेतृत्वप्रति असन्तुष्ट रहँदै आएका थिए ।


यस्तै इटहरीका काशीनाथ दङ्गाल र डा. बद्री विशाल पोख्रेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । दुवैले पार्टी नेतृत्वको गतिविधिको विरोधमा सामाजिक सञ्जालमा विचार राख्दै आएका छन् ।