काठमाडौं l लेखक तथा स्तम्भकार केशव दाहालको नयाँ उपन्यास ‘इथा’ सार्वजनिक गरिएको छ। भक्तपुरको राधेराधेस्थित रोयल थाई हस्पिटालिटीमा शनिबार आयोजित विशेष समारोहबीच उक्त कृति लोकार्पण गरिएको हो।
कार्यक्रमको मुख्य आकर्षण शिल्पी थिएटरले उपन्यास ‘इथा’माथि तयार पारेको गीति नाटक रहेको थियो। नाटकमार्फत कलाकारहरूले उपन्यासले उठाएका विषयवस्तुलाई जीवन्त ढंगले प्रस्तुत गरेका थिए। वसुधा, लखा, धान्यवती, नयनतारा र सौरन्द्रीजस्ता पात्रहरूको अभिनयले दर्शकको ध्यान खिचेको थियो।
कार्यक्रमका भूषिता वशिष्ठले ‘इथा’ उपन्यासमाथि विचारोत्तेजक विमर्श प्रस्तुत गरिन् । इथालाई केवल ऐतिहासिक आख्यानका रूपमा सीमित नराखी उनले पौरस्त्य दर्शनका दृष्टिबाट व्याख्या गरिन् । इतिहास, संघर्ष र महिला स्वाभिमानको सशक्त अभिव्यक्ति ‘इथा’ रहेको उनको भनाइ छ ।
वशिष्ठले विशेषगरी उपन्यासका महिला पात्रहरूलाई पौरस्त्य दर्शनको ‘शक्ति’ अवधारणासँग तुलना गर्दै उनीहरू केवल पात्र नभई प्रतीकका रूपमा उभिएका उल्लेख गरिन् । ती महिलामा देखिएको साहस, विद्रोह र विनम्रता कुनै व्यक्तिगत गुण मात्र नभई व्यापक सांस्कृतिक चेतनाको रहेको उनले बताइन्, जसले पाठकलाई आफ्नो अस्तित्व र स्वतन्त्रताबारे पुनर्विचार गर्न प्रेरित गर्ने उनको भनाइ छ ।
‘इथाको कथा प्रवाह, पात्रहरूको आत्मसंघर्ष र उनीहरूले लिएको निर्णायक अडानले मलाई भित्रैदेखि छोएको छ,’ उनले भनिन्, ‘यति सुन्दर एवम् सुललित किसिमले लेखिएको उपन्यास हामीले कमै मात्रामा पढ्न पाउँछौं, यो पुस्तक म तपाईंहरु सबैलाई एक पटक पढ्नैपर्ने पुस्तकका रूपमा सिफारिस गर्छु ।’
विमर्शका क्रममा उनले भारतीय साहित्यमा ‘वैशालीकी नगरवधू’ले स्थापित गरेको मानकलाई स्मरण गर्दै ‘इथा’ लाई त्यही स्तरको प्रभाव पार्न सक्ने कृतिका रूपमा मूल्यांकन गरिन् । ‘वैशालीकी नगरवधू’ले भारतमा ऐतिहासिक परिवेशमा आधारित भएर पनि समाज, संस्कृति र मानवीय सम्बन्धहरूको गहिरो चित्रण गर्दै एक नयाँ मापदण्ड स्थापित गरेको थियो,’ उनले भनिन्, ‘इथा’ ले पनि नेपाली साहित्यमा नयाँ उचाइ निर्धारण गर्ने सम्भावना बोकेको छ ।’
उपन्यास ‘इथा’ ले करिब दुई हजार चार सय वर्षअघिको ऐतिहासिक, पौराणिक र किंवदन्तीमूलक परिवेशलाई आधार बनाउँदै वैशालीबाट लिच्छविहरू कसरी मञ्जुपट्टन आइपुगे र सौमरहरूमाथि विजय हासिल गरी नयाँ राज्यको स्थापना गरे भन्ने विषयलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ ।
‘इथा’मा के छ ?
वैशालीबाट कसरी लिच्छविहरु मञ्जुपट्टन आइपुगे र सौमरहरुलाई जितेर नयाँ राज्यको स्थापना गरे ? यस प्रश्नमा अनेकौं उपन्यास लेखिन सक्छन् । तिनै लेखिनुपर्ने अनेकौं उपन्यासमध्ये एउटा उपन्यास हो, इथा, जसको केन्द्रमा छन् तीन महिला— साहस, विद्रोह र विनम्रताका प्रतीक ।
युद्ध, प्रेम र प्रताडनाको आँधीसँग जुध्दै र आफ्ना सपना जोगाउँदै उनीहरु गङ्गाको मैदानबाट उकालो चढ्छन् । उनीहरुसँग हुन्छन् स्वतन्त्रताका अपरिमित चाहना र प्रतिज्ञा । अन्ततः तिनै प्रतिज्ञाले उनीहरुलाई एउटा निर्णय गर्नैपर्ने बिन्दुमा पु¥याउँछन् र मञ्जुपट्टनमा राज्य विप्लव हुन्छ । त्यसैको जगबाट जन्मिन्छ, लिच्छविहरुको नयाँ राज्य ।
करिब दुई हजार चार सय वर्षअघिका इतिहास, कथा र किंवदन्तीलाई बुनेर लेखिएको यो एउटा अलौकिक उपन्यास हो । र हो, महिला स्वतन्त्रता र स्वाभिमानको सशक्त घोषणापत्र ।
को हुन् दाहाल ?
लेखक तथा स्तम्भकार केशव दाहालको पहिलो प्रकाशित कृति नेपाली राजनीतिको पुनर्गठन (२०७३) हो । दोस्रो कृति उपन्यास मोक्षभूमिले २०७७ सालको पद्मश्री साहित्य पुरस्कार पाएको थियो । उनको तेस्रो कृति निबन्धसङ्ग्रह माधवी ओ माधवी (२०७९) हो भने इथा (२०८२) उनको चौथो प्रकाशित कृति र दोस्रो उपन्यास हो । उपन्यास फाइनप्रिन्टले प्रकाशन गरेको हो ।